७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

स्थगित मतदान पुनः सुरु



रोल्पा, १४ असार । मतपेटिकामा तेजाब हालेपछि स्थगित रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय भवनमा मतदान केन्द्रको मतदान प्रक्रिया पुनः सञ्चालन भएको छ ।

सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखे्रेलले जानकारी दिनुभयो ।

एक सय ५० मत खसिसकेपछि एक अपरिचित व्यक्तिले लुकाएर लगेको तेजाब मतपेटिकामा खन्याएपछि मतपेटिकामा रहेका १५ मत जलेको बताइएको छ । सर्वदलीय बैठकपछि मतदान नगरेकाहरुलाई मात्र मतदान प्रक्रियामा समावेश गराइएको छ ।

यसैबीच घटनास्थलतर्फ जान भनी सदरमुकामबाट हिँडेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीको टोली बाटामा गएको पहिराका कारण सदरमुकामतर्फ फिर्ता भएको छ ।

यसैगरी थवाङमा समेत शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको बताइएको छ । नेकपाका कार्यकर्ताले नेपाली काँग्रेससँग सहकार्य गरी स्वतन्त्र उम्मेदवारी दिएपछि थवाङीहरु निर्वाचनमा सहभागी भएसँगै त्यहाँको सुरक्षा अवस्था सहज भएको छ । जिल्लामा हालसम्म करिब ५५ प्रतिशत मत खसिसकेको बताइएको छ ।
१०३ वर्षीयाबाट मतदान

रोल्पा नगरपालिका–८ मा रहेको मतदान केन्द्रबाट १०३ वर्षीय गङ्जबहादुर ओलीले मतदान गर्नुभएको छ । ओलीले सो मतदान केन्द्रमा आफन्तको सहयोगमा पहिलो मत खसाल्नु भएको थियो ।

मतदानपछि प्रतिक्रिया दिँदै ओलीले भन्नुभयो गाउँघरको विकास गर्ने आशाले मतदान गरी आफ्नो सपना पूरा भएको देख्न चाहेको बताउनुभयो ।“राम्रो उम्मेदवार हेरेर मतदान गरेको छु”, ओलीले भन्नुभयो ।

जिल्लामा हालसम्म करिब ६० प्रतिशत मतदान भइसकेको बताइएको छ । यहाँ १५४ मतदान केन्द्र र ८० मतदानस्थल छन् । जिल्लामा पुरुष मतदाता ५६ हजार ७८६ र महिला मतदाता ६० हजार ४७५ छन् ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००