१२ बैशाख २०८१, बुधबार । April 25, 2024

ग्लोबल

हैजाबाट बच्न विशेष कार्यक्रम



साना, १३ असार । पछिल्ला वर्षमा युद्धग्रस्त बनेको देश यमनमा हैजाबाट बच्न विशेष स्वास्थय कार्यक्रम सञ्चालन गरिएको छ । यस देशमा गएको छ महिनादेखि हैजाको प्रकोप फैलिएको छ ।

गतहप्ता मात्र यहाँ हैजाबाट कम्तीमा पनि एक हजार १४६ को मृत्यु भएको समाचार सार्वजनिक गरिएको थियो । सो तथ्याङ्क अत्यन्तै डरलाग्दो हो भन्दै संयुक्त राष्ट्रसंघको सहयोगमा यस्तो स्वास्थ्य कार्यक्रम सुरु गरिएको समाचारमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यहाँ सरसफाई कार्यक्रम, खाना र पानीको आपूर्तीमा सतर्कता र औषधिको व्यवस्था गरेको बताइएको छ ।

त्यस्तै यस रोगबाट बच्नका लागि यहाँका सञ्चारमाध्यममार्फत जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेको बताइएको छ । हालैमात्र सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार गत अप्रिल २७ बाट सुरु भएको यस हैजाको प्रकोपबाट यहाँ एक हजार १४६ जनाको मृत्यु भएको छ ।

साथै यस प्रकोपबाट अरु एक लाख ६६ हजार ९७६ जना प्रभावित भएका र ती मध्येका अधिकांश बिरामी उपचारपछि घर फर्किएका बताइएको छ । यमनका २३ प्रान्तमध्ये २० वटामा हैजाको प्रकोप नै देखिएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ ।

यसअघि पनि उक्त सङ्गठनले यमनका विभिन्न प्रान्तहरुमा स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो ।

हालै गरिएको अर्काे एक अनुसन्धानबाट अगामी छ महिनाभित्र यस प्रकोपबाट करिब संङ्ख्या तीन लाख व्यक्ति प्रभावित हुने देखिएपछि स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००