१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

‘अरनिकोकृत श्वेतचैत्य’ नेपाली र अङ्ग्रेजी भाषामा



काठमाडौँ, १३ असार । वाङ्गमय शताब्दी सत्यमोहन जोशीद्वारा नेपाल भाषामा लिखित ‘अरनिकोकृत श्वेतचैत्य’ नेपाली र अङ्ग्रेजी भाषामा अनुवाद गरिएको छ ।

नेपाल र चीन मित्रताको प्रतीक तथा अरनिकोले बनाएको सो चैत्य निर्माणका विभिन्न आधार तथा दर्शनका पक्षमा लेखिएका सो कृति जोशीका छोरा अणुराजले दुवै भाषामा अनुवाद गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र नःली साहित्यक मासिक पत्रिकाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको महाकाव्यको समीक्षा कार्यक्रममा सहभागी वक्ताले सो कृतिले नेपाली वास्तुविद् अरनिकोले निर्माण गरेको श्वेतचैत्यलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरेकाले अन्य भाषामा पनि अनुवाद गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले बौद्ध संस्कृति महायान र बज्रयान परम्पराको महत्व रहेको उल्लेख गर्दै चैत्य निर्माण ती दुवै परम्पराको दर्शनमा आधारित रहेको विषय महाकाव्यमा रहेको जानकारी गराउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बौद्ध दर्शनमा आधारित चैत्य निर्माणका पक्ष तथा चैत्य निर्माण गर्ने संस्कृति र परम्पराका इतिहास उक्त कृतिमा रहेको उल्लेख गर्दै नेपाली कलाकार अरनिको तथा उनले बनाएको चैत्यका दार्शनिक पक्ष प्रवद्र्धनका लागि कृति महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिष्ठानका सदस्यसचिव जिवेन्द्रदेव गिरी, नःली साहित्यक मासिक पत्रिकाका सम्पादक नरेशविर शाक्य, साहित्यकार भूषणप्रसाद श्रेष्ठ लगायतले नेपाल भाषामा महाकाव्यको परम्परा र इतिहासका विषयमा जानकारी गराउन पुस्तक उपयोगी रहेको विचार व्यक्त गर्नुभयो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००