७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

नारायणगढ–मुग्लिन सडक दृघकालिन रुपमा असुरक्षित बन्ने खतरा



चितवन, १३ असार । नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिको काम ढिलाइसँगै दीर्घकालीन रुपमा असुरक्षित बन्ने खतरा रहेको व्यवस्थापिका–संसद्, विकास समितिले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा औँल्याइएको छ ।

पछिल्लो समय पहिरो खसेर मानवीय क्षति समेत भएपछि विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले आज सडकको स्थलगत अनुगमनपछि यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताले यस्तो खतरा औँल्याएका हुन् ।

सडक विस्तारका क्रममा भित्तो काटिएका ठाउँमा गत एक साता यता पटकपटक पहिरो खसेर सडक अवरुद्ध बनेपछि विकास समितिले अनुगमन गरेको हो । पहिरोमा परी धनजनको समेत क्षति भएपछि यो सडक खण्ड निकै जोखिमपूर्ण रहेको भन्दै चर्चामा छ ।

कार्यक्रममा समितिका सभापति अधिकारीले अहिलेको भित्तो कटाई वैज्ञानिक नदेखिएको भन्दै दीर्घकालीन रुपमा समेत सुरक्षित हुने गरी तोकिएको समयमा काम सम्पन्न गर्न सरकारी तवरबाट सहयोग गर्न तयार रहेको बताउनुभयो । मानवीय संवेदनालाई बुझेर निर्धारित समयमा सुरक्षित र भरपर्दाे सडक निर्माणमा लाग्न सरोकारवाला निकायलाई उहाँले निर्देशन पनि दिनुभयो ।

रातको समयमा काम गर्न र दिनको समयमा सवारी सञ्चालन गर्न आवश्यक पर्ने गृहकार्य गर्न प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई निर्देशन दिनुहुँदै उहाँले ठेकेदार कम्पनीलाई आवश्यक सहयोग पु¥याउन सरोकारवालालाई आग्रह गर्नुभयो ।

सडक छेउका वस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउँदै उहाँले दीर्घकालीन रुपमा सुरक्षित सडक बनाउनका लागि के–कस्तो काम गर्नुपर्छ, त्यसको बारेमा अध्ययन गरी १५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन दिन नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा समितिका सदस्य प्रकाश पौडेल र गुरु बुर्लाकोटीले कमजोर पहाड भएको र त्यसमा पनि कोप्रो काटिएकाले सडक असुरक्षित बनेको भन्दै काम सम्पन्न भएपछि पनि ढुक्कसँग आवागमन गर्ने सक्ने अवस्था नरहेको बताउनुभयो । सडकको भित्तो भिरालो बनाएर नकाटेसम्म सडक सुरक्षित नहुने भन्दै उहाँहरुले सरोकारवाला निकाय जिम्मेवार नबनेको बताउनुभयो ।

चितवनका सांसद कृष्णभक्त पोखरेल र काशीनाथ अधिकारीले जुन ढङ्गबाट काम हुनुपथ्र्याे, त्यसो नभएको र निर्धारित समयमा काम सम्पन्न पनि नहुने र सुरक्षित सडक पनि नबन्ने ठोकुवा गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी भट्टले भित्तो काट्ने काम सुरुमा जति थियो, सडक रोकेर गरिएको भए पनि उपलब्धिपूर्ण हुन नसकेको, काम थपिएको समयमा पनि सम्पन्न हुने अवस्था नरहेको र सुरक्षित हुने गरी भित्तो नकाटिएको बताउनुभयो ।

आयोजनाका परामर्शदाता पुष्कर रेग्मीले ठेकेदार कम्पनीसँग उपकरण पर्याप्त नभएको र भएका जनशक्ति र उपकरणको व्यवस्थापन गर्न नसकेका कारण काममा ढिलाई भएको बताउनुभयो । सो अवसरमा सडक विभागका महानिर्देशक गोपाल सिग्देलले हालसम्म भएको कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विभागका उपमहानिर्देशक तथा परियोजना संयोजक सञ्जयकुमार श्रेष्ठले दुई वर्षमा भूकम्प र नाकाबन्दीका कारण नौ महिना काम गर्न नपाएको र यसै अवधिमा दुई वटा वर्षात् झेल्नु परेकाले सोचे जति काम हुन नसकेको बताउनुभयो । जनशक्ति र उपकरण दुवै मिलाएर काम गर्नुपर्ने भन्दै उहाँले समयमा काम नसकेमा जरिवाना गरिने चेतावनी दिनुभयो । ¥याम बनाएर काम गर्नुपर्दा कोप्रो भई काटिएको र त्यसलाई भिरालो पार्ने काम हुने बताउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधिले भूकम्प, नाकाबन्दी, विद्युत् पोल र खानेपानीको पाईप सार्न भएको ढिलाई, रुख काट्न भएको ढिलाई, निर्माण सामग्रीको उपलब्धता सहज नभएको, लामो समय वर्षा भएको, पहिरो पन्छाउन समय खर्चिएको, रिभेरियसन समयमा नभएको गुनासो गरेका थिए ।

विश्व बैंकको रु दुई अर्ब ९० करोड आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ । चीन हुँदै नेपालको कोदारी–काठमाडौँ, नागढुङ्गा–नौबिसे, मुग्लिन–नारायणगढ, हेटौँडा–वीरगन्ज हुँदै भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।

आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।

राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्दछ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ ।

सम्झौताको हुँदाको मिति अनुसार सन् २०१७ को अप्रिलसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सो सडकलाई तीन भागमा विभाजन गरेर तीन ठेकेदार कम्पनीलाई ठेक्का दिइएको छ । भूकम्प र नाकाबन्दीको कारण भन्दै दुई पटक गरेर आउँदो डिसेम्बर सम्म निर्माण सम्पन्न गर्ने मिति थप गरिएको छ । सो सडकको पहिलो खण्ड ५० प्रतिशत, दोस्रो खण्ड ५६ दशमलब ५ प्रतिशत र तेस्रो खण्ड ४७ दशमलब ३ प्रतिशत काम सम्पन्न भएको छ ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००