१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

सूर्यविनायक–जगाती सडक अतिक्रमण हटाउन सुरु



भक्तपुर, १३ असार । सूर्यविनायक नगरपालिका र डिभिजन सडक कार्यालय भक्तपुरले आजदेखि सूर्यविनायक चोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको छ ।

वर्षौँदेखि व्यापारीको अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु गरेको हो । डिभिजन सडक कार्यालयले पटकपटक सूचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएको टहरा, पर्खाल र थुपारिएको निर्माण सामाग्री हटाउन अनुरोध गर्दै आएका थिए । उक्त सूचनालाई अटेर गरेपछि गत बिहिबार हटाउन खोज्दा तीन दिन समय मागेका थिए ।

तीन दिन समय माग गरेपनि छ दिनसम्म नहटाएपछि जगाती क्षेत्रबाट सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाले जानकारी दिनुभयो । वडाध्यक्ष थापाको नेतृत्वमा गएको सडक डिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी सहितको टोलीले सडक विस्तार सुरु गरेको हो ।

अरनिको राजमार्गअन्तर्गत उक्त सडक ८२ फिट मापदण्ड मिचेर व्यापारीले सडकमा थुपारिएको निर्माण सामग्री हटाउने र टहरा भत्काउने कार्य नगरेपछि जनप्रतिनिधिको अग्रसरतामा त्यस्ता सामग्री एवम् टहरा हटाइएको हो । सडकमा व्यापारीले वर्षौँदेखि बालुवा, रोडा, ढुङ्गा, डण्डीलगायत निर्माण सामग्री थुपारेर व्यापार गर्दै आएका थिए भने कतिपयले टहरा हालेर व्यापार गर्दै आएका थिए ।

सडक क्षेत्रको अतिक्रमणका कारण हरेक वर्ष वर्षा लागेपछि स्थानीय बासिन्दा र पैदल यात्रीलाई हिँडडुल गर्न समस्या पर्ने, सडकमा पानी जमेर खोला जस्तै बन्ने गरेकाले यस वर्ष त्यो समस्या आउन नदिन अतिक्रमण हटाएर सडक फराकिलो पार्न लागिएको वडाध्यक्ष थापाले बताउनुभयो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००