७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

निर्वाचनको तयारी पूरा,



धनगढी, १३ असार । बुधबार हुन लागेको स्थानीय तहको निर्वाचनको सबै तयारी कैलाली जिल्लामा पूरा भएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बुधबारको निर्वाचनका लागि जिल्लाका सबै मतदानस्थलमा आज मतदान केन्द्र (बुथ) निर्माण कार्य धमाधम भइरहेको छ ।

प्रत्येक मतदान केन्द्रमा कम्तीमा पाँचदेखि बढीमा छजना कर्मचारी खटिएको अर्यालले बताउनुभयो । जिल्लाका स्थानीय तहमा २३१ वटा मतदानस्थल र ४९० मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
यी तहका ६८९ पदका लागि जम्मा तीन हजार ४४६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन आयोगले कैलाली जिल्लाका स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ४४ वटा चुनाव चिह्न समावेश गरिएको मतपत्रको व्यवस्था गरेको छ ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्था सुदृढ पारिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।
बुधबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा गस्ती बढाइएको रिजालले बताउनुभयो ।

मतदाता उत्साहितः—
लामो प्रतीक्षापछि बुधबार हुन लागेको स्थानीय तहको निर्वाचनमार्फत जनप्रतिनिधि चुनिने निश्चित भएपछि कैलालीका सर्वसाधारण उत्साहित भएका छन् । झन्डै १५ वर्षदेखि साबिकको स्थानीय निकाय जनप्रतिनिधिविहीन रहँदा विकास निर्माण लगायतका समस्या समाधानका लागि असहज महसुस गरेका मतदाता मतदान गरेर आफ्ना प्रतिनिधि चयन गर्न आतुर देखिएको स्थानीय धनवीर रानाले बताउनुभयो ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००