१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

मध्यअसार लाग्यो खेत बाँझै, आकाश हेर्दै किसान



रत्ननगर (चितवन), १३ असार । दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात, आठ कट्ठा खेतमा रोपाइँ सक्नुभएको थियो ।

यसपालि पर्याप्त पानी नपर्दा उहाँले रोपाइँ गर्न सक्नुभएको छैन । वर्षा नभएकाले नै उहाँले धान रोप्न नसक्नु भएको हो ।

सिँचाइबाट पानी लगाए रोपाइँ त हुन्थ्यो होला तर खेत नगल्दै रोपेको रोपो दुई तीन दिनमै मर्न थाल्छ भनेर उहाँले वर्षा कुर्नुभएको छ । “अहिले रोपेर के गर्नु खेत गलेकै छैन, दुई तीन दिनमा सुख्खा हुने भएकाले रोप्नुको अर्थहुन्न”, अधिकारीले भन्नुभयो – “आकाश हेरेर बसेको छु, खेत गले पछिमात्र रोपाइँ गर्छु ।” तैपनि जेनतेन अन्य क्षेत्रमा भन्दा माडी र पूर्वी चितवनको भण्डारा क्षेत्रमा केही प्रतिशत रोपाइँ भएको छ । अन्नको राजा मानिने धान समयमै नरोपे उत्पादन राम्रो हुँदैन ।

यति महत्वपूर्ण मानिएको धान लगाउने किसानका खेत अहिले बाँझै छन् । यसपालि खोलाको छेउछाउ, सिँचाइकुलो भएको ठाउँ र बोरिङले पानी निकालेको क्षेत्रमा केही रोपाइँ भएको छ । आकाशे पानीको भर नपर्ने भण्डाराको गैरीखेतमा भने रोपाइँ भएको भण्डाराका किसान राजु सेंढाई बताउनुहुन्छ । अन्य क्षेत्रमा पनि रोपाइँ हुन सकेको छैन ।

मध्यअसार लाग्दासम्म चितवनका अधिकांश खेत बाँझै छन् । अहिलेसम्म छ सात प्रतिशतमात्रै रोपाइँ भएको जिल्ला कृषि कार्यालयको तथ्याङ्क छ । पश्चिम चितवनमा बीउ राख्ने क्रम छ । पूर्वी चितवनका धेरै ठाउँमा धानको बीउ रोप्ने बेलाका भइसके । उक्त कार्यालयका योजना शाखा प्रमुख तथा सूचना अधिकारी कमला न्यौपाने यसपालि समयमै पानी नपरेकाले किसान आकाश पर्खेर बसेको बताउनुहुन्छ । दुईदिनअघि चितवनका विभिन्न क्षेत्रमा उहाँ घुम्नुभयो । अधिकांश किसानका खेत बाँझै देखेको न्यौपाने बताउनुहुन्छ ।

पूर्वी चितवनको भण्डाराको राजमार्ग क्षेत्रमा अघिल्लो वर्षको यो समयमा धानका बीउ काढ्ने, खेत रोप्ने, जोत्ने क्रम देखिन्थ्यो । विगतमा खेतखेतमा ट्र्याक्टर कुँदेका हुन्थे । रोपार लामबद्ध भएर रोप्दै गरेका दृष्यले मोहित बनाउँथ्यो । बाउसेले आली सुम्सुम्याइरहेका हुन्थे । अहिले चितवनमा यो दृष्य अहिले यो क्रम फाट्टफुट्टमात्रै छ ।

दिनदिनैजस्तो फाट्टफुट्ट पानी नपरेको पनि होइन तर मूल फुट्ने र खेत गल्ने गरी पानी नै नआएको पश्चिम चितवनको जगतपुरका किसान टीकाराम पौडेल बताउनुहुन्छ । पानी नआएकाले बालीनाली लगाउन किसानलाई समस्या परेको उहाँको भनाइ छ । अहिले हुर्केका बीउ तत्कालै रोपिसक्नुपर्ने हुन्छ । जिल्लामा २२, २४ दिनभन्दा बढीका बीउ राम्रो हुँदैन भनेर किसानलाई जानकारी दिएको सो कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने बताउनुहन्छ ।

छरेका धानको बीउ रोप्ने समय नाघ्न थालेको छ तर आठ–दश दिनसम्म गल्ने अवस्थाको पानी नपरे अहिलेका बीचको उत्पादन राम्रो नआउने उहाँ उल्लेख गर्नुहुन्छ । चितवनमा पछिल्लो समय जग्गा प्लटिङका कारण धानखेती करिब चार, पाँच वर्षको अन्तरालमा ५०० हेक्टर मासिएको छ । धानखेती हुने अन्य केही जमिन माछापालनमा समेत भएको छ ।

यस्तो छ चितवनको रोपाइँको अवस्था

अहिले मौसम पूर्णरुपमा सक्रिय भएको छैन । चितवनको पूर्वी क्षेत्र राप्ती, खैरहनी, कठार, पिप्ले, भण्डारामा अलिअलि रोपाइँ चलेको छ । दक्षिण माडीमा पनि रोपाइँ हुन थालेका छन् ।

भएका रोपाइँहरु सिँचाइ पर्याप्त भएको ठाउँमा छन् । अहिले वर्षा नहुँदा बीउसमेत छिप्पिने अवस्था हुन लागेको कृषि कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने बताउनुहुन्छ । गतवर्ष यो बेला वर्षा राम्रो थियो । गएको वर्ष आजको दिनसम्ममा २२ प्रतिशत रोपाइँ भएको उहाँको भनाइ छ तर आज पूर्वी चितवनमा १२, १५ प्रतिशत रोपाइँ भए पनि जिल्लाको समग्र स्थिति हेर्दा जम्मा सात प्रतिशत रोपाइँ भएको छ ।
जिल्लामा कुल २९ हजार २०० हेक्टरमा बर्खे धान लगाइन्छ । सो कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा वार्षिक एक लाख तीन हजार ५०० मेट्रिक टन बर्खे धान उत्पादन हुन्छ ।

चैतेधान चार हजार ५७५ हेक्टरमा लाग्ने र यसबाट करिब २० हजार मेट्रिक टन धान उतपादन हुँदै आएको छ । जिल्लाको पूर्वी क्षेत्रमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ब्लक छुट्याएर धाउ उत्पादन गरिँदैछ । जिल्लामा किसानलाई धानखेतीमा आकर्षित गराई धान उत्पादन बढाउन उक्त कार्यक्रम आएको कृषि कार्यालयले जनाएको छ ।

यसपालि धानको महत्व दर्शाउँदै खेतीमा आकर्षित गर्न यही असार १५मा चितवनको रत्ननगरमा धान दिवस बनाइने कार्यक्रमसमेत रहेको छ । यस्तै पश्चिम चितवनको देवनगरमा पनि धानदिवस हुने जनाइएको छ ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००