१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न आयोगको आग्रह



काठमाडौँ, १३ असार । निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेको छ ।

सचिव मैनालीले निजामति प्रशासनको मर्यादा विपरीत, भ्रामक र आधारहीन प्रचारबाजी गरेको जनाउँदै आयोगले सरकार समक्ष उक्त आग्रह गरेको हो ।

गरिमामय संवैधानिक आयोग र आयोगका पदाधिकारीको मानमर्दन हुनेगरी हुँदै नभएको लाञ्छना लगाई जनसमुदायमा भ्रम फैलाई निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र गरिमामा सचिव मैनालीले आघात पु¥याएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सचिव सरुवाको विषयलाई लिएर आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालमा अनर्गल भ्रमक र तथ्यहीन समाचार प्रकाशन भएकामा आयोगको ध्यानाकर्षण भएको जनाएको छ । एक करोड ४० लाखभन्दा बढी मतदाता नामावली छपाइ, मतदाता परिचयपत्रको व्यवस्थापन, मतदाता शिक्षालगायत कार्यक्रमलाई समयमै व्यवस्थापन गरी पहिलो चरणको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिएको कुराको स्मरण पनि आयोगले गरेको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गर्न आयोगका सम्पूर्ण कर्मचारी अहोरात्र कठोर मेहनत, कुशलता र निष्ठापूर्वक खटिएको र असहज वातावरणमा पनि पहिलो चरणको निर्वाचनको जिम्मेवारी पूरा भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आयोगले बुधबार हुने निर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००