९ चैत्र २०८०, शुक्रबार । March 22, 2024

मुख्य खबर

कर्णालीको कृषि तथा खाद्यका सवालमा विज्ञहरुको चिन्ता



जुम्ला १३ असार । बदलिँदो समयसँगै मासिँदै गएको कर्णालीको उर्वर भूमि र यहाँको कृषि तथा खाद्यको सवालमा विज्ञहरुले चिन्ता देखाएका छन् ।

आत्मसम्मानका लागि सहकार्य ९क्याड० जुम्ला र वातावरणीय स्रोत संस्थाको सहकार्यमा आयोजित कर्णाली कृषि तथा खाद्य सरोकार समूहको बैठकमा विज्ञहरुले यो चिन्ता व्यक्त गरेका हुन् । बैठकमा कृषि अभियन्ता डा कृष्ण पौडेलले विगत दुई दशकदेखि नेपालको कृषि निरन्तर बिग्रँदो अवस्थामा पुगेको र कृषि कर्म एकाएक महिला र वृद्धवृद्धाको काँधमा आइपुगेको बताउनुभयो ।

डा पौडेलले पछिल्लो समयमा कर्णालीजस्तो उर्बर भूमिका नागरिक पनि आयातित कृषिमा निर्भर हुने बाध्यता आइलाग्नु निकै चासो र चिन्ताको विषय भएको बताउनुभयो । अब मानव समाजका लागि पर्यावरणीय कृषि एकमात्र विकल्प रहेको उहाँको भनाइ छ ।

“मानव सभ्यतासँगैको विकास क्रम, विविधता, विभेद, आधुनिक विकास र पर्यावरणीय ह्रासका कारण पर्यावरणीय विशेषता बोकेको पर्वतीय कृषि प्रणाली चिन्ताजनक छ” – डा पौडेलले भन्नुभयो । उहाँले अगाडि थप्नुभयो – “बाहिरी स्रोत साधनको अधिकतम प्रयोगले उत्पादनको तुलनामा लागत बढ्न गई किसान कृषि क्षेत्रबाट पलायन भएको र यो क्षेत्र निरन्तर ओरालो लाग्दै गएको छ ।” अब भने भू–उपयोगका आधारमा भूमिको वर्गीकरण, भूमि तथा कृषि प्रशासन संरचनाको आधारमा खाद्यमा आत्मनिर्भरता, किसानको पहिचान, वर्गीकरण र सामाजिक सुरक्षाको सोच व्यवहारमा लागू गर्ने बाटो रोज्नुपर्ने उहाँको सुझाव थियो ।

कृषि तथा खाद्य अनुसन्धानकर्ता करिश्मा गुरुङले विद्युतीय कार्यपत्र प्रस्तुत गर्दै कर्णालीको कृषि घट्दो र खाद्य असुरक्षा बढ्दो अवस्थामा रहेको जनाउनुभयो । जुम्लामा अहिले पनि कृषि खेतीमा एकजना पुरुषबाहेक सबै महिला मात्र व्यस्त रहेको देखाउँदै उहाँले युवा कृषिमा संलग्न नरहे यो सङ्कटोन्मुख अवस्थामा जाने दाबी गर्नुभयो । रसायन विषादीयुक्त बाहिरी कृषि उपजको आयात बढ्दो छ, खाद्य संस्कृतिमा परिवर्तन आएको छ, उन्नतका नाउमा नपुंसक बीउ भित्रिने गरेको छ, जसका कारण मानव स्वास्थ्य र जीवन जटिल अवस्थामा पुगेको उहाँले बताउनुभयो । राज्यले बेलैमा ध्यान नपु¥याए कर्णाली मात्र होइन सिङ्गो मुलुकले कृषिमा भयावह अवस्था भोग्नुपर्ने उहाँको भनाइ थियो ।

आत्मसम्मानका लागि सहकार्य ९क्याड० नेपालका कार्यकारी निर्देशक तथा कर्णाली कृषि तथा खाद्य सरोकार समूहका संयोजक धनबहादुर गौतमले कृषिमा आत्मनिर्भर तत्कालीन कर्णाली आधुनिक विकाससँगै परनिर्भरतातर्फ धकेलिएको तर्क गर्नुभयो । “उच्च पर्वतीय क्षेत्रका रुपमा परिचित कर्णालीमा अहिले पनि औषधिजन्य गुण भएका रैथानेबाली छन्, तिनको उत्पादन, संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्नुपर्छ । यसका लागि स्थानीय तहले यहाँको माटो सुहाउँदो कृषि तथा खाद्य नीतिको आधार निर्माण गर्नुपर्छ” – उहाँले भन्नुभयो ।

गैरसरकारी संस्था महासङ्घका जिल्लाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले परनिर्भरताउन्मुख अवस्थालाई प्रतिस्थापन गरी निर्यात वृद्धि गर्न अब स्थानीय सरकारको प्रमुख भूमिका रहने कुरा औँल्याउनुभयो । कृषि विज्ञहरुको सल्लाह, निजी क्षेत्रको सहयोग र नागरिक समाजसहित सरोकारवाला कृषकको सकल प्रयासबाट कृषि र खाद्य सुरक्षामा सुधार आउने उहाँको भनाइ थियो ।

कार्यक्रमका सहभागीहरुले कृषिमा नेपाल आत्मनिर्भर बन्न सके अर्थतन्त्रमा पनि बलियो हुने भनाइ राख्दै यसका लागि राज्य जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००