६ बैशाख २०८१, बिहिबार । April 19, 2024

मुख्य खबर

चित्तधर पुरस्कार अमेरिकन दबुलाई



काठमाडौँ, १२ असार । कविकेशरी चित्तधर ‘हृदय’ को १११औँ जन्मजयन्तीका उपलक्ष्यमा उहाँको स्मृतिमा स्थापित यस वर्षको चित्तधर ‘हृदय’ पुरस्कार नेवा अमेरिकन दबु सिकागो अमेरिकालाई प्रदान गरिएको छ ।

सो पुरस्कारकारको राशि रु २५ हजार र साथमा प्रमाणपत्र छ । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान र नेपाल भाषा परिषद्को संयुक्त तत्वावधानमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल भाषाका महाकवि हृदय विसं १९६३मा काठमाडौँको न्यत तुँछे गल्लीमा जन्मेका थिए । नेपाल भाषा तथा साहित्यका क्षेत्रमा अतुलनीय योगदानको कदर गर्दै तत्कालीन राजा महेन्द्रले विसं २०१२ मा हृदयलाई कविकेशरीको पदवीबाट विभूषित गरेका थिए ।

नेपाल भाषा पुनःजागरण कालका सदस्य हृदयको पहिलो कविता सन् १९२५ मा ‘बुद्धोपासक’ र सन् १९३३ मा ‘पद्यनिकुन्ज’ नामक महाकाव्य प्रकाशन भएको थियो । बुद्धको जीवनीमा आधारित ‘सुगत सौरभ’ महाकाव्यले उहाँलाई अमर बनाएको हो । उनको अर्को महत्वपूर्ण पुस्तक “मिँ मन्हगु पौ” (आगोले नजलेको चिठी) तथा झी मचा र छ वटा कथा छन् । नेपाल भाषामा साहित्य लेखन गरेको आरोपमा सन् १९४१ जेल सजाय भोगेका हृदय सन् १९४६ मा कारागारमुक्त भएका थिए । उनले सन् १९५३ मा नेपाल भाषा परिषद्को स्थापना गरेका थिए ।

कार्यक्रममा नेपाल भाषाका वरिष्ठ कथाकार मथुरा सायमीलाई ‘भाषा थुवा’को साहित्यिक उपाधिबाट विभूषित गरियो । नेपाल भाषाका निबन्धकार ठाकुरलाल मानन्धरको सम्झनामा स्थापित ठाकुरलाल पुरस्कार वरिष्ठ निबन्धकार योगेन्द्रमान श्रेष्ठलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु १५ हजार र साथमा प्रमाणपत्र छ ।

त्यस्तै मोतीलक्ष्मी सिरपा बौद्धविद्वान् डा रिना तुलाधरलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु १५ हजार र प्रमाणपत्र रहेको छ । नेपाल भाषाका साहित्यकार पूर्णकाजी ताम्राकारको स्मृतिमा स्थापित पूर्णहिरा सिरपा ललितपुरका वरिष्ठ साहित्यकार रोहिणीबहादुर कायष्थलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार र प्रमाणपत्र रहेको छ ।

सो अवसरमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले प्रतिष्ठानले विभिन्न भाषाभाषीका समुदायसँग सहकार्य गर्दै नेपालमा रहेका साहित्य र संस्कृतिको विकासमा हातेमालो गर्दै आएको बताउनुभयो । पुरस्कृत कथाकार सायमीले छ दशक लामो आफ्नो साहित्यिक यात्रामा साहित्यकार प्रेमबहादुर कंसाकार तथा दाजु धुस्वाँ सायमीको प्रेरणाबाट आफूले दुई दर्जन पुस्तक निकाल्न सकेको जानकारी दिनुभयो । बौद्धविदूषी डा रिना तुलाधरले बुद्धधर्म र पाली भाषाका ज्ञाता मोतीलक्ष्मी उपासिकाको प्रेरणाबाट आफू बौद्धधर्मका क्षेत्रमा लागेको बताउनुभयो ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००