१० चैत्र २०८०, शनिबार । March 23, 2024

मुख्य खबर

घाँटी भाँचिएर एकसिङ्गे गैँडा म¥यो



रत्ननगर (चितवन), १२ असार । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्दाजी २८–३० वर्षको पोथी गैँडा कुमरोजको कङ्क्रिट मचान नजिकै मरेको जानकारी दिनुभयो । मचान नजिकैको घोल (सिमसार) मा राति बिरामी जस्तो भएर बसेको गैँडा बिहान ११ बजे मरेको हो ।

अनुसन्धान गर्दा घाँटी भाँचिएको पाइएको भन्दै निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेले भाले लाग्ने क्रममा भाग्दा लडेर घटना भएको जानकारी दिनुभयो । केही दिन अघि मात्रै सोही सामुदायिक वनको इचर्नी खोला नजीकै मरेको गैँडाको बच्चा (केटो) गोहीले खाएको अवस्थामा फेला पारिएको थियो ।

अहिले मर्ने पोथी गैँडा त्यही केटोको आमा भएको अनुमान गरिएको डा गैरेले बताउनुभयो । चोरीसिकार नियन्त्रण युवा जागरण अभियान (कुमरोज)का अध्यक्ष ईश्वरी पाठक पछिल्लो समयमा गैँडाको राम्रो वासस्थान बन्दै आएको कुमरोजमा कालगति या विभिन्न कारणले गैँडा मरिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो । यसतर्फ निकुञ्जले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

पछिल्लो गैँडा गणनामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्याङ्क छ । एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००