१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

पुरुष मतदाता भन्दा महिला धेरै



रोल्पा, १२ असार । बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

जिल्लामा कुल मतदान स्थल ८० तथा मतदान केन्द्र १५४ रहेका छन् भने कुल मतदाता सङ्ख्या एक लाख १७ हजार २६१ रहेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । महिला मतदाताको सङ्ख्या ६० हजार ४७५ तथा पुरुष मतदाताको सङ्ख्या ५६ हजार ७८६ रहेको छ । पुरुष भन्दा महिला मतदाताको सङ्ख्या तीन हजार ६८९ बढी रहेको छ ।

अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका कारण महिला मतदाताको सङ्ख्या बढी भएको हो । जिल्लामा चुनावी प्रचारप्रसारमा समेत महिला र बालबालिकाको प्रयोग बढी भएको पाइएको छ ।

सदरमुकाम लिवाङस्थित बालमन्दिरका दुईवटा मतदान केन्द्रको जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ । महिलामैत्री मतदान केन्द्र बनाउन सम्पूर्ण जिम्मेवारी महिला कर्मचारी खटाइएको बताइएको छ । निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीलगायतको टोली मतपेटिकासहित पुगिसकेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

मतदान केन्द्रबाट आइतबारदेखि नै मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । निर्वाचनमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ । निर्वाचनका लागि तीन हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : १२ असार २०७४, सोमबार ००:००