९ बैशाख २०८१, आइतबार । April 22, 2024

मुख्य खबर

मुलुकको अर्थतन्त्र मजबुत बनाइने : अर्थमन्त्री कार्की



भोजपुर, ११ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र मजबुत बनाउन आफू प्रयत्नशील रहेको स्पष्ट पार्नुभएको छ ।

आज भोजपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा गृह जिल्ला भोजपुर आउनुभएका अर्थमन्त्री कार्कीले तीनै तहको निर्वाचन सम्पन्न गरी अर्थतन्त्र सबल बनाउने दायित्व पूरा गरेरै छाड्ने उल्लेख गर्नुभयो ।

आफू जलस्रोत मन्त्री हँुदा अरुण तेस्रो आयोजनाको काम अगाडि बढाएको स्मरण गराउनुहुँदै अर्थमन्त्री कार्कीले अब त्यो कामलाई तीव्ररुपमा अगाडि बढाउने र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कार्कीले भोजपुरलाई अग्रणी जिल्लाका रुपमा चिनाउन आफूले सक्दो काम गर्नेसमेत बताउनुभयो ।
कार्यक्रममा जिल्लाका कर्मचारीका तर्फबाट प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, उद्योग बाणिज्य सङघका तर्फबाट अध्यक्ष डम्बर श्रेष्ठ, नागरिक समाजका अध्यक्ष परशुराम तिवारी तथा जिल्लाका राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका सभापति नन्दमणि राईले भोजपुरको समृद्दिका लागि कार्य गर्न मन्त्री कार्कीलाई सफलता मिलोस् भनी कामना पनि गर्नुभयो ।

सो अवसरमा विभिन्न सङघसंस्थाका तर्फबाट मन्त्री कार्की समक्ष मागपत्र पनि पेश गरिएको थियो ।

यसैबीच, मन्त्री कार्की भोजपुरको षडानन्द नगरपालिकामा भारत सरकारको सहयोगमा बन्दै गरेको अस्पतालको आजै अनुगमन गरी राजधानी फर्कनुभयो । रासस

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००