१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

समृद्धिका लागि काँग्रेसको जित आवश्यकः सभापति देउवा



डडेल्धुरा, ११ असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा हालसम्म भएका परिर्वतन नेपाली काँग्रेसकै अगुवाईमा भएको बताउनुभएको छ ।

काँग्रेसद्वारा आज यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “नेपालका ठूल्ठूला राजनीतिक परिवर्तन र विकास निर्माण काँग्रेसको अगुवाईमा मात्रै भएको छ ।”

सभापति देउवाले मुलुकको समृद्धिका लागि स्थानीय तहको नर्वाचनमा काँग्रेस जित्न जरुरी रहेको उल्लेख गर्दै महिला आयोग, दलित आयोग, जनजाति आयोग, कमैया मुक्त र थारु आयोगलगायतको स्थापना काँग्रेसले नै गरेको दाबी गर्नुभयो ।

मुलुकका सामाजिक, आर्थिक र शैक्षिक परिवर्तन पनि काँग्रेसको नेतृत्वले नै ल्याएकाले अबको निर्वाचनमा काँग्रेसले विजयी हासिल गर्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो – “चर्का भाषण, नाराबाजी र भ्रमले सामाजिक र आर्थिक विकास हुन सक्दैन्, त्यसका लागि जनविश्वास जित्नुपर्दछ ।”

प्रधानमन्त्री देउवाले जनतालाई मालिक बनाउनका लागि काँग्रेसले पटकपटक आन्दोलन गर्दै आइरहेको र त्यसैको परिणामस्वरुप अहिले नेपाली जनता मालिक हुने अवस्थामा पुगेको बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि तिन वटै तहको निर्वाचन अपरिहार्य रहेको बताउँदै उहाँले तोकिएको समयभित्रै तिनै तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध छ भन्नुभयो ।

दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि यहाँ आईपुग्नुभएका प्रधानमन्त्री देउवा निर्वाचन अवधिभर गृह जिल्लामै रहने उहाँको निजी सचिवालयले जनाएको छ ।

मतदाता परिचयपत्र वितरण सुरु
यसैबीच जिल्लामा रहेका ११० मतदान केन्द्रबाट आज बिहानैदेखि मतदाता परिचयपत्र वितरण कार्य भइरहेको छ ।

मतदाता परिचयपत्र लिन सम्बन्धीत मतदान केन्द्रमा मतदाताको भिड लागेको छ । जिल्लामा रहेका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगीसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००