७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

लगानीकर्तालाई प्रोत्साहन गर्न संयन्त्र निर्माण गरिने



हेटौँडा, ११ असार । उद्योग सचिव यादवप्रसाद कोइरालाले स्वदेशी लगानीकर्तालाई प्रोत्साहन दिन सरकारले छुट्टै संयन्त्र स्थापना गरी कार्यान्वयन गर्न लागेको बताउनुभएको छ ।

मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय एवम् क्षेत्रीय व्यवसायी मञ्चको आयोजनामा आज यहाँ लगानीकर्ता र व्यवस्थापकबीचको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वदेशी उद्यमीहरुले बाह्य मुलुकबाट कच्चापदार्थ आयात गर्न र उत्पादित सामग्री अन्तर्राष्ट्रिय बजारमा पु¥याउन समयानुकूल भन्सार सुविधा उपलब्ध गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “लगानीकर्ताहरुलाई उद्योग स्थापनाका लागि सरकारले शान्तिसुरक्षाको प्रत्याभूति प्रबल रुपमा गरिदिएको छ । उद्योग व्यवस्थापन र मजदुरबीच समन्वय र सहकार्य गरेर उद्योगलाई आत्मनिर्भर बनाउने व्यवस्थापन पक्षको सोच हुनुपर्दछ ।”

मध्यमाञ्चलका क्षेत्रीय प्रशासक एवम् क्षेत्रीय व्यवसायी मञ्चका अध्यक्ष शङ्कर कोइरालाले लगानीकर्तालाई स्वदेशमा उद्योग स्थापनाका लागि आवश्यक जग्गालगायत भौतिक पूर्वाधारको सुविधा उपलब्ध गराउन सरकारले क्षेत्रीय व्यवसायी मञ्चको माध्यमबाट निर्देशिका तयार पारेको जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले लगानीकर्ताले मजदुर वर्गसँग सहकार्य गरेर गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

यसैबीच, सो छलफल कार्यक्रममा उद्योग मन्त्रालयका पूर्वसचिव विमल वाग्ले, उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपाने र निजी क्षेत्रका उद्यमी स्वागत प्याकुरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००