४ बैशाख २०८१, मंगलबार । April 16, 2024

मुख्य खबर

क्षतिपूर्ति पाएपछि जुम्लाका स्याउ कृषक खुसीले दङ्ग



जुम्ला, ११ असार । जुम्ला । मौसममा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका कृषक क्षतिपूर्ति पाएपछि दङ्ग छन् ।

शिखर इन्स्योरेन्स कम्पनी र सक्षम कार्यक्रमद्वारा यहाँ आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । कार्यक्रममा गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका १४७ किसानमध्ये १०५ जनाले क्षतिपूर्ति पाएका हुन् । मौसमी स्याउ असिना र सुख्खा खडेरीले क्षति पु¥याएकाले बिमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको सो कम्पनीका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले बताउनुभयो ।

हामीले १० वटा स्याउका बोट बराबर रु दुई हजार ९२१ उपलब्ध गराएका छौँं, जसमा अधिकतम् रु १४ हजार ६०५ र न्यूनतम रु दुई हजार ९२१ क्षतिपूर्ति उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

सुरुको वर्षमा ४७ जनाले मौसमी स्याउ बिमा गरेकामा कुनै क्षति नपुगेको तर पछिल्लो समयमा बिमा गरेका किसानको स्याउमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराएको उहाँको भनाइ छ ।

सक्षम कार्यक्रमका जिल्ला संयोजक सुजीत श्रेष्ठले मौसम सूचकाङ्का आधारमा नेपालमै पहिलो पटक जुम्लामा परीक्षण परियोजनाका रुपमा कार्यक्रम लागू गरिएको बताउनुभयो । जुम्लाका आठवटै स्थानीय तहमा मापन केन्द्र स्थापनागरी स्याउ बिमा कार्यक्रमलाई अघि बढाउने उहाँले बताउनुभयो ।

कार्यक्रमस्थलमै क्षतिपूर्तिको चेक पाउँदा किसान दङ्ग भए । “बिमा गर्नुपर्छ भन्दा एक बोट बराबर रु ४० तिर्न हामी निकै तर्सिएका थियौं, तर आज क्षतिपूर्ति पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो,” स्थानीय कृषक जगप्रसाद जैसीले भन्नुभयो । कृषक हरिशोभा अधिकारी र तिलारुपा पाण्डेले सुरुमा बिमा गर्न मन नलागेपनि अहिले रहर जागेर आएको बताउनुभयो ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपरजोन’ परियोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख विष्णुप्रसाद शर्माले बोटको उत्पादनका आधारमा राहत तोक्नुपर्नेमा जोड दिनुभयो जोखिमीको सुक्ष्म अध्ययनगरी स्याउको व्यवसायीकरण र उद्योग व्यवसायलाई सँगसँगै लिनसके जुम्ला मात्र नभई आसपासका जाजरकोट, कालिकोट मुगु पनि सुपरजोन हुनसक्ने उहाँको तर्क थियो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००