१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

मुख्य खबर

नमोबुद्ध नगरको विकासबारेमा छलफल



बनेपा, ११ असार । काभ्रेपलाञ्चोकमा निर्वाचित जनप्रतिनिधिले नगरपालिकालाई कसरी समृद्ध बनाउने भन्ने विषयमा राय सङ्कलन गरेका छन् ।

धुलिखेलमा शनिबार नमोबुद्ध नगरपालिकाले विज्ञ संवाद तथा अन्तक्र्रिया गर्दै चुनौतीको सामना गर्न सम्भावनाको खोजी गरेको छ । नयाँ नगरपालिकाका रुपमा रहेको नमोबुद्ध नगरपालिका स्रोत र साधनको हिसाबले पनि कमजोर मानिन्छ ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले अवधारणा प्रस्तुत गर्दै थुप्रै चुनौतीका बीच केही सम्भावना पनि भएको उल्लेख गर्दै त्यसका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “खानेपानीको चरम सङ्कट रहेको नमोबुद्धको कानपुरमा दूध बेचेर खानेपानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता छ ।”

बसपार्क, ल्यान्डफिल साइडको अभाव, भौतिक पूर्वाधारको अभाव, पुरानो दाप्चा बजारको पुनरुत्थान नमोबुद्ध नगरपालिकाका समस्या भएको नगरप्रमुख शर्माले बताउनुभयो ।

पूर्व महान्यायाधिवक्ता डा युवराज सङ्ग्रौलाले सार्वभौम अधिकार प्रयोग गर्ने थलो स्थानीय तह भएको उल्लेख गर्दै स्थानीय तह संवैधानिक निकाय भएको जिकिर गर्नुभयो ।

उहाँले नगरलाई समृद्ध गराउन त्यहाँका नागरिकलाई सिटी कार्ड वितरण गर्न आग्रह गर्दै कार्डमार्फत नागरिकको विस्तृत विवरण राख्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव गोपीनाथ मैनालीले विकासका लागि मानव संशाधन र प्राकृतिक स्रोत अपरिहार्य भएको उल्लेख गर्दै तेमालको फूलपातीदेखि पदमसम्म धार्मिक सर्किट निर्माण गर्न सुझाव दिनुभयो ।

उद्योग मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले खानेपानीको समस्या समाधान गर्न वर्षाको पानी सङ्कलन प्रभावकारी हुने उल्लेख गर्दै पुरानो दाप्चा बजार ऐतिहासिक सांस्कृतिक पर्यटकीय गन्तव्य हुन सक्ने बताउनुभयो । रासस

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००