९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

बेपत्ता प्रहरी खोज्न पाँच टोली परिचालन, कुकुरको पनि प्रयोग



रत्ननगर (चितवन), १० असार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित कालीखोलामा शुक्रबार बिहान पहिरोसँगै बगेर बेपत्ता भएका दुई प्रहरी र प्रहरीको भ्यान खोज्न जिल्लाका सबै सुरक्षा निकायका पाँचवटा टोली परिचालन भएका छन् ।

दुईवटा कुकुरसहित पाँचवटा टोलीमा १५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
उहाँले बाहिर पहिरोमा पुरिएको अवस्थाको खोजीका लागि कुकुरसहितको टोली परिचालन गरिएको र अन्य विभिन्न क्षेत्रमा खोजीका लागि अलग अलग समूह परिचालन भएको थापाले जानकारी दिनुभयो । डुङ्गाको प्रयोग पनि गरिएको तर नदीमा पानी बढ्दो क्रममा रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय, रसौलीमा रहेको सेनाको विपद् व्यवस्थापन गण, द फेमस दल गण, भरतपुरको नारायणी मनिटरिङ प्याट्रोलिङ समूह, कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन समूह तथा कुकुरसहितको टोली परिचालन गरिएको छ । अहिलेसम्म प्रहरीको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, मुग्लिनबाट प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङको नेतृत्वमा पहिरो पन्छाएर फर्कंदै गरेको ना १ झ १३९० नंको प्रहरीसहितको भ्यान शुक्रबार बिहान १ बजेर ५ मिनेटको समयमा कालीखोला नजिकै माथिबाट खसेको पहिरोले बगाएको थियो ।

खोजतलासका क्रममा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र प्रहरी जवान दीपककुमार मास्केको शव नदी किनारमा पुरिएको अवस्थामा फेला पारिएको भए पनि प्रहरी भ्यानसहित प्रहरी जवान लीलबहादुर चेपाङ र सन्दीप कार्की बेपत्ता छन् ।

सँगै बगेको ना ५ ख ७८२७ नंको ट्रक भिरमा अड्किएको अवस्थामा छ । उक्त ट्रकका चालक रामकुमार लामाले भने प्रहरीको गाडी नदीमै पुगेको दाबी गर्नुभयो ।

प्रहरीले गाडी नदीमै खसेको प्रारम्भिक अनुमान गरेपनि अझै यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । यो पाँच टोलीको अनुसन्धानले केही पत्ता नलागे गोताखोर टोली मगाउने चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००