११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

गोठ छुने दलितलाई दुई हजार जरिवाना



बाजुरा, १० असार । जिल्लाको छेडेदह गाउँपालिका–१ बिराडी गाउँमा भैंसी गोठ छोएको निहुँमा एक दलितलाई दुई हजार रकम जरिवाना तिराइएको छ ।

शुक्रबार दिउँसो नेकपा (एमाले)को प्रचारमा हिँडिरहेका बेला राजेन्द्रबहादुर सिंहको भैंसी गोठ अर्थात छाना छोएकामा प्रेम बहादुर विकले गाली खानुप¥यो । अब देउता मान्नुपर्ने भन्दै विकलाई रु दुई हजार जरिवानासमेत तिराइएको स्थानीय वीरबहादुर रावलले बताउनुभयो ।

विक नेकपा (एमाले)का वडा अध्यक्षका उम्मेदवार वीरबहादुर रावलसँग प्रचारमा हिँडेका थिए । छानाको बाटो भएर करिव २० मिटर टाढा हिड्दा ‘मेरो छाना किन छोइस् ? अब देउता रिसाउछन् पुज्नु प¥यो’ भनेर गाली गरेका पीडित विकले बताउनुभयो ।

वडा अध्यक्षका उम्मेदवार रावलले भन्नुभयो, “विकसँग पैसा थिएन, त्यही भएर मैले आफैं पैसा तिरिदिएको हुँ । पैसा नतिरे उनलाई नछोड्ने भए ।”

विकले आफूमाथि भएको जातीय विभेदको घटनाबारे जिल्ला दलित विकास मञ्चमा जानकारी दिएको शङ्कर चदाराले बताउनुभयो । ‘मञ्चले प्रेस विज्ञप्तिमार्फत खेद व्यक्त गर्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००