१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

नौजना ‘स्वस्थ बच्चा’ घोषित



काठमार्डौँ, १० असार । ‘स्वस्थ बच्चा हाम्रो चाहना, समृद्ध भविष्य हाम्रो कल्पना’ भन्दै अल्का अस्पतालले तीन वर्ष उमेर समूहका स्वस्थ बच्चा २०७४ घोषणा गरेको छ ।

दुई सय बालबालिकाका अभिभावकले प्रतियोगिताका लागि नाम दर्ता गराएकामध्ये अन्तिम नौमा परेका बालबालिकालाई आज पुरस्कृत गरिएको छ । यसका लागि जेठ १५ देखि १८ गतेसम्म नाम दर्ताका लागि समय तोकिएको थियो । एक वर्ष उमेर समूहअन्तर्गत स्वर्णय श्रेष्ठ प्रथम, रियान्स तज्या द्वितीय र स्वर्णिमा आचार्य तृतीय भएका छन् ।

त्यसैगरी, एकदेखि तीन वर्ष उमेर समूहअन्तर्गत रुपेश केसी, रेनिया केसी र सार्थक अर्याल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने तीनदेखि पाँच वर्ष उमेर समूहका यविका राई प्रथम, आराध्यप्रताप शाह द्वितीय र मिकीसामन मगर तृतीय घोषित भएका छन् । विजेतालाई क्रमशः रु २० हजार पाँच, रु १४ हजार पाँच र रु १० हजार पाँच नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

प्रतियोगिताका निर्णायक समितिकी संयोजक मीरा खनालका अनुसार एक वर्ष उमेर समूहका ५०, एकदेखि तीन वर्ष उमेर समूहका ७५ र तीनदेखि पाँच वर्ष उमेर समूहका ७५ जना गरी तीन समूहका बच्चालाई प्रतियोगितामा सहभागी गराइएको थियो ।

‘आजका बालबालिका भोलिका कर्णाधार हुन्, आज उनीहरु स्वस्थ भए भने देश निर्माणमा योगदान पुग्नेछ’ भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संयोजक खनालले बताउनुभयो ।

सहभागी बालबालिकाको तौल, दैनिक आहार, शारीरिक मानसिक स्वास्थ्य, खोप तथा पोषणको सम्पूर्ण अवस्था हेरिएको थियो । अभिभावकले बच्चाको स्वास्थ्यमा समस्या देखिएमा कसरी उपचार प्रक्रिया अपनाउने गरेका छन् भन्ने कुरालाई पनि आधार बनाइएको आयोजकले जनाएको छ । अस्पतालले लायन्स क्लब इन्टरनेशलसँग मिलेर तेस्रोपटक प्रतियोगिता आयोजना गरेको हो ।

कार्यक्रममा हास्यकलाकार सीताराम कट्टेलले आफ्ना बालबालिकालाई भविष्यमा सफल र सबल बनाउन आजैदेखि उनीको स्वास्थ्यको राम्रो ख्याल गर्न आग्रह गर्नुभयो । “बच्चालाई आत्मविश्वासी र आत्मनिर्भर बनाउन आजैदेखि हामीले वातावरण तयार गर्नुपर्छ, उनीहरु पूर्णरुपमा स्वस्थ हुन आवश्यक छ”– उहाँले भन्नुभयो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००