५ बैशाख २०८१, बुधबार । April 17, 2024

अन्तवार्ता

आन्दोलनकै रुपमा चुनावमा सहभागी भएका हौ : कुमार लिङदेन



संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन मिराक विद्यार्थी कालबाट नै प्रगतिशिल आन्दोलनमा सहभागी भए । त्यहिबेलाबाटै जातिय मुक्ति र पहिचानपक्षधर लिङ्लदेन लगायत नेताहरुले ६० को दशकमा स्थापना गरेको संघीय लिम्बुवानले संघीयता र पहिचानको आन्दोलनमा ६० दशक यता देशमा निकै ठूलो प्रभाव पार्यो । पार्टीको आन्तरीक जीवनमा पनि निक्कै आरोह अवरोह आए । टुक्रिएर झण्डै आधा दर्जन पार्टी बन्यो तर पनि लिम्बुवान आन्दोलनको केन्द्रमै रहे कुमार लिङ्देन । स्थापना कालबाटै उठाउँदै आएको अरुणपूर्व लिम्बुवान प्रान्त देश संघीयतामा जाँदै गर्दा सम्बोधन त हुन सकेन तर लिम्बुवान संघीय आन्दोलनको केन्द्रमा रह्यो । देशले एउटा आकार पाए पनि पहिचान सहअस्तित्व र १० प्लस १ प्रान्त स्थापनार्थ संघर्ष जारी छ । संघीय लिम्बुवान मञ्चले दोस्रो संविधानसभा बहिष्कार गरेको थियो । अहिले स्थानीय चुनावमा घर चिन्ह लिएर सहभागी हुदैछन् । प्रस्तुत छ संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनसंग टुडिखेलले गरेको छोटो चुनावी कुराकानी :-

 

किन अचानक चुनावमा जाने निर्णय गर्नु भो ?
हामी यो चुनावमा उत्सवका रुपमा गएका होइनौ । हामी आन्दोलनमा छौ, आन्दोलनकै रुपमा स्थानीय तहको चुनावमा सहभागी हुदैछौ । अहिले चुवाव हाम्रो लागि साध्य होइन साधन मात्र हो । हामी त संविधान संशोधनपछिको चुनावका पक्षमा थियौँ । संविधान संशोधपछि गरिएको चुनाव स्थायी हुन्छ । स्थायी शान्ति ल्याउँछ भन्ने पक्षमा थियौँ । तर चुनाव अघि संशोधन हुने अवस्था रहेन त्यसैले आन्दोलनका रुपमा चुनावमा भाग लिदैछौ ।

दोस्रो संविधानसभाको चुनाव जुन मुद्दा उठाएर वहिस्कार गर्नु भो त्यो त पुरा भएको छैन । जनतामा कसरी जानु हुन्छ ?
त्यस्तो अप्ठ्यारो छैन । अहिले चुनावमा जान हाम्रो लागि एकदम अनुकुल छ । अहिले त जनताले बोलाईरहेका छन् । तपाईहरु चुनावमा आउनुस हामी भोट हाल्न चाहान्छौ भनिरहेका छन् । सही कामका लागि तपाईहरु लडिरहनु भएको छ त्यसमा हामीले साथ दिन नसकेको हो भनिरहेका छन् । यथार्थ कुरा जनताले बुझेका छन् । त्यसकारण पनि जनता माझ जान हामीलाई कुनै असजिलो छैन ।

तपाईहरुले सुरुदेखि उठाउँदै आएको एजेन्डा लिम्बुवान प्राप्त नभए पनि जनताको साथ छ ?
एमाले जस्तो जिम्मेवार पार्टी संविधान संशोधनको विपक्षमा पुरै एग्रेसेवली उत्रिएको छ । संविधान संशोधानको प्रयास भयो विधेयक संसदमा छ । त्यहाँसम्म पुर्याउनु पनि संसदिय व्यवस्थामा ठुलो कुरा हो । हामी यहि मुदा लिएर जनतासम्म जान्छौ । कम्तिमा हामीले प्रयास जारी राखेको छौ ।

के छ तपाईहरुको चुनावी एजेन्डा ?
लिम्बुवान लगायत १० प्लस १ प्रान्त स्थापनार्थ म्याण्डेटका लागि हामी चुनावमा जाने हो । एकजुट भएर लड्नको लाग म्याण्डेट लिन जाने हो । हामीले अहिलेसम्म गरेका सतप्रयासका बारेमा यथार्थ कुरा लिएर जनतामा जानेछौ ।

तपाईहरुको पक्षमा जनमत आउँला ?
हामी आन्दोलनकारी शक्ति हो । काङ्गेस, एमाले र माओवादी जस्ता यथास्थितिवादी शक्तिले जनताको आँखामा निक्कैबाक्लो कालो पट्टी बाध्न सफल भएका छन् । राज्य स्रोत साधनको दुरुपयोग गरेर आफ्नो पक्षमा माहोल त ल्याउला तर अन्तिम विजय हाम्रै हुनेछ ।

लिम्बुवावासीलाई तपाईको सन्देश ?
लिम्बुवान ऐतिहासिक र वर्तमानमा एउटा साझा भूमि हो । जहाँ हामी सबै आआफ्नो हिसावले रमाउँन सक्छौ । संघीयता आन्दोलनका लागि लिडर पनि हो लिम्बुवान । सिंगो देशलाई संघीय सहअस्तित्व र पहिचानका लागि एउटा असल पाठ सिकाउनका लागि सम्पूर्ण लिम्बुवानवासी एकजुट भएर १० प्लस १ प्रान्तका लागि एक जुट हुन लिम्बुवानवासीलाई आह्वान गर्दछु ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००