११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

आश्रय र नागरिक सहायता कक्ष भवन निर्माण सुरु



बाबियाचौर (म्याग्दी), १० असार । समुदायको अगुवाइमा बेनीस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा हिंसामा परेका महिला तथा बालबालिकाको लागि आश्रय र नागरिक सहायता कक्ष भवन निर्माण सुरु भएको छ ।

स्थानीयवासीबाट आर्थिक र भौतिक सामग्री सहयोग जुटाएर निर्माण गरिने भवनमा सहायता कक्ष र आश्रयस्थलका दुई वटा छुट्टाछुट्टै कक्ष रहनेछन् । ६ लाख २७ हजार लागत अनुमान गरिएको भवन डेढ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

हिंसामा परेका महिला तथा बालबालिकाको सहज वातावरणमा उजुरी तथा गुनासो व्यवस्थापन र अनुसन्धान सहज बनाउन नागरिक सहायता कक्ष बनाउन लागिएको प्रनाउ खड्काले उल्लेख गर्नुभयो ।

यसैगरी ग्रामीण क्षेत्र र टाढाबाट आउने लक्षित समुदायलाई एक रातसम्म आश्रय सुविधा दिइने छ । आश्रयस्थल भएपछि प्रहरी कार्यालयमा उजुरी तथा गुनासो गर्नका लागि होटलमा बास बस्नेगरी बेनी आउने पीडितलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रहरी कार्यालयले सूचना शाखामा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ भने जिल्लामा पीडितको लागि आश्रय दिने सङ्घ संस्था नहुँदा समस्या भएको छ । भवन निर्माणका लागि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्यामलाल न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ ।

आगामी ४५ दिनभित्र भवन सम्पन्न गरेर प्रयोगमा ल्याउने लक्ष्य छ । भवन निर्माणका लागि बजारवासीसँग संस्थागत र व्यक्तिगत रुपमा सहयोगको आह्वान गरिएको कोषाध्यक्ष ज्योति लामिछाने पौडेलले बताउनुभयो ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००