१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

झापामा ६९९ जनप्रतिनिधिका लागि तीन हजार ३४० उम्मेदवार



भद्रपुर, ९ असार । दोस्रोचरणको स्थानीय तहको निर्वाचनमा सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ जना जनप्रतिनिधिका लागि नगरपालिका र गाउँपालिका गरी जम्मा तीन हजार ३४० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्लामा कुल पाँच लाख १० हजार २१६ मतदातामा पुरुष दुई लाख ५३ हजार ४१५ र महिला दुई लाख ५६ हजार ७९८ जना छन् ।पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या तीन हजार ३८३ ले बढी रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यले बताउनुभयो ।

निर्वाचनका लागि झापामा ३८३ मतदानस्थल र ६३७ मतदान केन्द्र तोकिएकामा ४८ वटा अतिसंवेदनशील र ४६ वटालाई संवेदनशील मतदान केन्द्रको रुपमा पहिचान गरी सोही अनुसार शान्ति सुरक्षाको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिकामा ५२ जना जनप्रतिनिधिका लागि अहिले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य र स्वतन्त्र उम्मेदवार गरी २९२ जनाले उम्मेदवारी दिएका छन् ।
सो कार्यालयका अनुसार कुल मतदाता ४२ हजार ५७ जना रहेको सो नगरपालिकामा निर्वाचनका लागि २४ वटा मतदानस्थल र ५३ वटा मतदान केन्द्र तोकिएको छ ।

यस्तै सात गाउँपालिकामा एक लाख ६१ हजार ७१५ र आठ नगरपालिका तीन लाख ४८ हजार ५०१ मतदाता निर्वाचनमा सहभागी हुने भएका छन् ।

मतदाता शिक्षाका लागि ६३७ जना परिचालन भए पनि झापामा रहनुभएका राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुधीर पाठकले जनतालाई पूर्णरुपमा मतदातालाई मतदान सम्बन्धी ज्ञान नभएको पाइएको र अधिकांश राजनीतिक दलले आचारसंहितालाई पूर्णरुपमा पालन नभएकाले यसतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन अनुगमनका लागि झापा आउनुभएका महान्यायधिवक्ता कार्यालयका नायब महान्याधिवक्ता खगराज आचार्यले मतदान प्रक्रियालाई उचित व्यवस्थापन गर्न राजनीतिक दलबाट अपनाइने प्रक्रिया एवम् आचारसंहितामा गम्भीर नरहेकोले निर्वाचनलाई स्वच्छ, धाँधलीरहित एवम् स्वतन्त्र र निस्पक्ष बनाउन राजनीतिक दलहरु बढी जिम्मेवार रहनुपर्ने सुझाव दिनुभयो ।

निर्वाचन हुने जनप्रतिधिमा सबै भन्दा बढी मेचीनगर नगरपालिकामा ७७ जना र सबै भन्दा कम हल्दिवारी गाउँपालिकामा २७ जना छन् ।

निर्वाचनका लागि पाँच दिन मात्र बाँकी रहेको अवस्थामा राजनीतिक दलका उम्मेदवार एवम् स्वतन्त्र उम्मेदवारले आ–आफ्ना पक्षमा जनमत तयार गर्न प्रत्यक्ष सम्पर्क र घरदैलो कार्यक्रमलाई अझ तीव्र पारेका छन् ।

चुनावी माहौल तातिदै गएपछि अहिले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र० र राप्रपा पार्टीका उम्मेदवारकैबीच बढी प्रतिस्पर्धा हुने स्थानीय युवा अनिल पोखरेलले बताउनुभयो ।

भद्रपुर नगरपालिकाकामा काँग्रेसका तर्फबाट प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा तारा भूर्तेल, एमालेका तर्फबाट प्रमुखमा जीवन श्रेष्ठ र उपप्रमुखमा चन्द्रा श्रेष्ठ, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा शिवकुमार राजभण्डारी र उपप्रमुखमा श्रेणीका ंिसह तथा राप्रपाका तर्फबाट प्रमुखमा र नवराज पनेरु तथा उपप्रमुखमा राधा कार्की तथा बढी चर्चामा रहनुभएका स्वतन्त्र उम्मेदवार प्रमुख पदका दुर्गाप्रसाद भट्टराई र अर्का स्वतन्त्र प्रमुख पदका उम्मेदवार जगदीश काफ्लेले नगरपालिकाको समग्र विकासमा विशेष योजनाका साथ अधि बढ्ने बताउनुभएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगार, सुकुम्वासी समस्या, हात्तीको समस्या, बाटोघाटो, ढलको समस्या, भद्रपुरलाई औद्योगिक एवम् व्यापारिक केन्द्र बनाउने, सामाजिक न्याय एवम् न्यायमा जनताको पहुँच बढाउने, बिजुली, खानेपानीका समस्या जस्ता साझा समस्या नै निर्वाचनमा सहभागी राजनीतिक दलका उम्मेदवारहरुका एजेण्डा भएकाले उम्मेदवारहरु यही बिषयलाई प्रचारप्रसारको नाराका रुपमा अघि सारेका छन् ।

सो निर्वाचनका लागि आवश्यक सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत एवम् कर्मचारी आ–आफ्ना कार्य क्षेत्रमा आजदेखि जान थालेका जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो ।

भोलि बेलुकासम्म सबै मतदान केन्द्रमा खटिका कर्मचारी पुगिसक्नुपर्ने र ११, १२ र १३ गते मतदाता परिचयपत्र बाड्नुपर्ने दायित्व पनि पूरा गर्न कर्मचारी निर्देशन भइसकेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००