११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त



रामपुर (पाल्पा), ९ असार । आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवार मतदातासँग भोट माग्न घरदैलो कार्यक्रममा जुटेका छन् ।

कतिपय राजनीतिक दलले अन्तिम समयमा मात्र उम्मेदवारको टुङ्गो लगाएकाले निर्वाचन कार्यालयमा मनोनयन दाखिला गरी अन्तिम नामावली प्रकाशन भएपछि भोट माग्न जनताको घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन् ।

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नेपाली काँग्रेस, नेकपा एमाले, (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, अन्य साना दल तथा स्वतन्त्र उम्मेदवार नगरपालिकाको प्रमुखलगायत अन्य पदमा स्वतन्त्ररूपमा उम्मेदवारी दिएका उम्मेदवार सम्बन्धित दलका नेता कार्यकर्ता भोट माग्न व्यस्त छन् ।

रामपुर बजारका सुशील ढुङ्गाना अब हने स्थानीय तहको निर्वाचनमा पहिलो पटक मतदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै सक्षम नेतृत्वकर्ता चयन गर्ने तयारीमा रहेको बताउनुहुन्छ । उहाँ दलगत नेतृत्व भन्दा सक्षम, गाउँका समस्या समाधान गर्न सक्ने, विश्वाशीला उम्मेदवारलाई मतदान गर्ने सोचमा हुनुहुन्छ ।

नजिकिँदै गरेको निर्वाचनमा पाल्पामा विभिन्न दलले उम्मेदवारी दिए पनि मुख्य रूपमा काँग्रेस, एमाले र माओवादी केन्द्रबीचमा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । गाउँदेखि बाहिर बसेका मतदाता, नेता कार्यकर्ता जनप्रतिनिधि चयन गर्न गाउँ फर्कन थालेका छन् ।
निर्वाचनको मिति पटक÷पटक सर्दै गर्दै चुनाव हुन्छ या हुदँैन भन्नेमा अन्यौलताका बीच चुनावमा होमिएका उम्मेदवारले असार ४ गते उम्मेदवारी दर्ता गराएपछि अहिले ढुक्कका साथ प्रचारप्रसारको कामलाई व्यापक बनाएका छन् ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००