१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

छत्तिस लाखको लागतमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माण



कञ्चनपुर, ९ असार । बर्सेनि नदीले भूक्षय गर्दै आएको कञ्चनपुरका नौ स्थानमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ ।

मर्सिकोर नेपालको सहयोगमा एमरेड परियोजनाअन्तर्गत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले चालु आवमा स्थानीय समुदायको सहकार्यमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरेको हो । रु ३६ लाख २०४ को लागतमा ९०० मिटर जैविक र १३१ मिटर ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ । जसमध्ये परियोजनाअन्तर्गत दुवाहामा रु तीन लाख ५८ हजार २२०, विचपट्टीमा रु तीन लाख ५८ हजार २२०, पर्सियामा रु २० लाख १८, तिलकिमा रु तीन लाख ५८ हजार २२०, पिपलाडीमा रु चार लाख १८ हजार २२० र कृष्णपुरको कटानमा रु दुई लाख १८ को लागतमा जैविक तटबन्ध निर्माण गरिएको परियोजनका अधिकृत महेश घिमिरेले बताउनुभयो । जसबाट प्रत्यक्ष रुपमा चार हजार बढी परिवार लाभान्वित भएका छन् ।

यसैगरी, दुवाहामा ४८ मिटर लम्बाइको रु नौ लाख २४ हजार ६२६, सिकलपट्टीमा ४८ मिटर लम्बाइको रु पाँच लाख ८५ हजार ९४५ र सत्यालफाँटामा ३५ मिटर लम्बाइको रु एक लाख ९६ हजार ७१५ को लागतमा ढुङ्गा तारजालीको तटबन्ध निर्माण गरिएको अधिकृत घिमिरेले बताउनुभयो ।

दोदा, बनहरा र सनवोरा नदीमा निर्माण गरिएका जैविक तटबन्ध र ढुङ्गा तारजालीको तटबन्ध निर्माणका लागि परियोजनाले रु २० लाख २३ हजार ५६९, समुदायको रु सात लाख ९० हजार ७०४, स्थानीय तहको रु दुई लाख ६० हजार १३० र अन्य सहयोगी संस्थाको रु पाँच लाख २५ हजार ७९९ रकम सहयोग रहेको छ । जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माण भएपछि बर्सेनि जग्गा कटानको समस्याबाट पीडित रहँदै आएका बासिन्दाको जग्गाको सुरक्षा भएको छ ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००