१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

नारायणगढ मुग्लिन पहिरोमा परेकाको दुई शव भेटियो



चितवन, ९ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँगै त्रिशूलीमा खसेको प्रहरी भ्यानका दुई प्रहरीको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी जवान ३० वर्षीय दीपककुमार मास्केको शव भेटिएको हो । तामाङ धादिङ जिल्ला खनिया गाउँपालिका–४ का र मास्के बारा जिल्लाको हरैया–६ का हुनुहुन्थ्यो । उहाँहरुको शवलाई सडकभन्दा तल नदीमाथि भिरमा पहिरोले किचिएको अवस्थामा फेला परेको घटनास्थलमा रहनुभएका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । गाडीका चालक मास्के र प्रहरी सहायक निरीक्षक तामाङ गाडीको अघिल्लो सिटमा रहनुभएको थियो ।

पहिरोमा परी इलाका प्रहरी कार्यालय मुग्लिनका जवान २१ वर्षीय सन्दीप कार्की र ३१ वर्षीय लीलाबहादुर चेपाङ पनि बेपत्ता हुनुभएको छ । कार्की तनहुँको रुपाकोट–३ का र चेपाङ गोरखा मकैसिङ–१ का हुनुहुन्छ । उहाँहरुसँगै प्रहरीको ना१झ १३९० नंको भ्यान र दुई थान एसएलआर हतियार बेपत्ता भएका छन् । प्रहरी उपरीक्षक थापाले सुरुमा सडकमै पहिरोमा भ्यान पुरिएको अनुमान गरिएको भए पनि शवलाई भिरमा भेटिएपछि गाडी त्रिशूलीमा खसेको अनुमान गरिएको बताउनुभयो । पहिरोले भिरमा अड्काएको ना५ख ७८२७ नंको ट्रकका सहयोगी चालक सिजल लामालाई उपचारका लागि आँबु खैरहनी लगिएको छ भने चालक रामकुमार लामा सकुशल रहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ पहिरो खसेको हो ।

सवारीसाधन र बेपत्ता भएकाको रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले खोजी कार्यलाई तीव्रता दिएका छन् । सोही सडकको चारकिलोमा खसेको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको छ । दुई पहिरो बीचमा रहेका सवारीसाधनलाई नारायणगढतर्फ पठाइएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

मुख्य घटनास्थलमा खसेको पहिरो भने पन्छाउने क्रम जारी रहेको छ । राति ९ः४० बजे कालीखोलाको मुखमा खसेको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो । चारकिलोको पहिरो पन्छाउन नसकेपछि फर्किने क्रममा सो ठाउँमा पहिरो खसेर गाडी दुर्घटना भएको हो । रासस

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००