१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

प्रमुख पदमा महिलाको उम्मेदवारी परेन



बैतडी, ८ असार । बैतडीमा प्रमुख पदमा कुनै पनि महिलाको उम्मेदवारी परेको छैन । बैतडीका १० वटा स्थानीय तहमा प्रमुख पदका लागि महिलाको उम्मेदवारी शून्य रहेको हो । स्थानीय तहको निर्वाचनको चर्चा सुरु भएसँगै राजनीतिक दल भित्रका केही महिला नेत्रीले प्रमुख पदमा दाबी गरे पनि कुनै पार्टीले पनि महिलालाई प्रमुख पद दिन आँट गरेनन् ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार चारवटा नगरपालिका र ६ गाउँपालिकामा प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छैन । पितृसत्तात्मक समाजका कारण महिलालाई प्रमुख पद दिनमा राजनीतिक दलले आनाकानी गरेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्टले बताउनुभयो । महिलासँग क्षमता नै छैन भन्ने गलत हल्ला फैलाएर महिलालाई नेतृत्व दिन राजनीतिक दल हिच्किचाएको भट्टले बताउनुभयो ।

प्रमुख पदमा एकजना महिलाको पनि उम्मेदवारी नपर्नु निकै दुःखको कुरा भएको नेपाली काँग्रेसबाट पाटन नगरपालिकामा उपप्रमुख पदकी उम्मेदवार सरस्वती कोलीले बताउनुभयो । पुरुषभन्दा महिला मतदाता बढी भएको बैतडीमा प्रमुख पदमा महिलाको उम्मेदवारी नपर्नु महिलालाई अझै कमजोर बनाउने खेलको शृङ्खला भएको नेपाल महिला सङ्घकी देवु ठगुन्नाले बताउनुभयो ।

सोचे जति महिलाको राजनीतिमा पहुँच नभएकाले महिलाको प्रमुख पदमा उम्मेदवारी नपरेको हुन सक्ने महिलाको क्षेत्रमा काम गरिरहेको संस्था संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००