१० चैत्र २०८०, शनिबार । March 24, 2024

मुख्य खबर

नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयन गरेर अगाडि बढ्ने दुबै पक्षको प्रतिवद्धता



काठमाडौँ, ७ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले भेट गरी दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा छलफल गरेको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र चीनबीचमा भएका विगतका सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्ने र आगामी दिनमा आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने विषयमा जोड दिइयो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु पारवहन तथा यातायात, रोड एन्ड बेल्ट इनिसियटिभस्, क्रस बोर्डर इकोनोमिक जोन जस्ता सम्झौतामा दुई पक्षबीच छलफल गरेर कार्यान्वयन गरिने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

आपसी सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउँदै उहाँले चिनियाँ उद्योगी व्यवसायीको प्रतिबद्धताअनुसार ८ दशमलव ३ अर्ब अमेरिकी डलर बराबरको लगानी चाँडै आउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री महराले स्वतन्त्र व्यापार सम्झौता (एफटिए) सम्बन्धी प्रावधानले नेपालको व्यापार घाटा कम गर्न, उत्पादन वृद्धि गर्न र निर्यात वृद्धि गर्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले नेपाललाई चीनले ५१२ वटा वस्तुमा दिएको शून्य भन्सार महसुलका कारण पनि व्यापारमा नेपालले फाइदा लिन सकेको बताउनुभयो । मन्त्री महराले पर्यटन प्रवद्र्धनका लागि दुवै मुलुकबीच पहल गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिँदै संविधानको कार्यान्वयनका सिलसिलामा पहिलो चरणको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन अगाडि बढ्ने क्रममा रहेको बताउनुभयो । मन्त्री महराले सबै निर्वाचन तोकिएको समयमै सम्पन्न हुने विश्वास दिलाउनुभयो ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले आपसी विश्वास, समझदारी र पञ्चशीलका आधारमा अगाडि बढ्ने बताउनुभयो । मन्त्री महराले परम्परागतरुपमा हुँदै आएको दुई देशबीचको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले आफ्ना समकक्षी तथा चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो । जवाफमा प्रतिनिधि मण्डलका प्रमुख तथा सहायक विदेशमन्त्री क्वाङ सुयानयुले नेपालले ओबोरमा हस्ताक्षर गरेसँगै नेपाल–चीनबीचको सम्बन्ध नयाँ ‘फ्रेम’मा अगाडि बढेको बताउनुभयो । दुई मुलुकबीच आपसी समझदारी, विश्वास र सद्भावका आधारमा सम्बन्ध प्रगाढ बन्दै गरेको पनि उहाँले बताउनुभयो ।

परामर्श संयन्त्रको बैठक फलदायी भएको बताउँदै उहाँले आउँदा दिनमा दुई देशबीच भएका सम्झौता कार्यान्वयनको चुनौती रहेको विचार व्यक्त गर्नुभयो । क्वाङले सम्झौता कार्यान्वयनमा आफ्ना सरकारी संयन्त्र परिचालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “ओबोर बढाउने क्रममा नेपाल एक महत्वपूर्ण मुलुक रहँदै आएको छ । यस कार्यमा नेपाल प्रतिवद्ध भएर अगाडि बढ्छ भन्ने विश्वास छ ।” वाङले यसै वर्ष चीनको उच्चस्तरको भ्रमण गराउने प्रयास भइरहेको जानकारीसमेत दिनुभयो ।

उहाँले पराराष्ट्रमन्त्री महरालाई चिनियाँ विदेशमन्त्री वाङ यीको बधाई तथा शुभकामना सन्देश सुनाउँदै सक्दो चाँडो चीन भ्रमणको निमन्त्रणा दिनुभयो ।

बैठकमा परराष्ट्र मन्त्रालयका उच्चअधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायतका प्रतिनिधिको सहभागिता थियो । मङ्गलबार सम्पन्न संयुक्त परामर्श संयन्त्रको एघारौँ बैठकमा भाग लिन चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको थियो । उक्त प्रतिनिधिमण्डलको आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी भोलि स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००