११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

शिक्षक पौडेल मृत फेला



फलेवास (पर्वत), ७ असार । पर्वतको कुस्मा नगरपालिका– १ पाङ घर भई कटुवाचौपारीस्थित आइबल एकेडेमी बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका एक शिक्षक नारायण पौडेलको शव १५ दिनपछि कालीगण्डकी नदीको किनारमा फेला परेको छ ।

बाग्लुङको जैमिनी गाउँपालिकाको बेल बगरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बीस वर्षीय शिक्षक पौडेलले विगत एक महिनादेखि विद्यालयमा पढाउन सुरु गर्नुभएको थियो । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय नआउन भनेका पौडेल एकाएक हराएपछि घटना रहस्यमय बनेको थियो ।

गत जेठ २४ गतेदेखि बेपत्ता हुनुभएका शिक्षक पौडेल अन्तिमपटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भए पनि त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो । २७ गतेदेखि प्रहरीमा परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको प्रहरी निरीक्षक मधुकरजङग विष्टले जानकारी दिनुभयो ।

मङ्गलबार पौडेलका परिवारले शवको पहिचान गरेपछि आज शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको विष्टले बताउनुभयो । उहाँको के कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००