१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

खडेरी, रोग र खण्डवृष्टि २५ वर्षअघिभन्दा बढेको तथ्याङ्क



काठमाडौँ, ७ असार । पच्चीस वर्षअघिको तुलनामा अहिले खडेरी, रोग, कीराको प्रकोप र खण्डवृष्टि बढेको तथ्य सार्वजनिक भएको छ ।

नेपालमा पहिलोपटक गरिएको राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्षणमार्फत यस्तो तथ्य सार्वजनिक गरिएको हो । विसं २०७३ भदौदेखि माघसम्म सर्वेक्षण गरिएको थियो । जलवायु परिवर्तनको प्रभाव वन, जैविक विविधता, स्वास्थ्यलगायत क्षेत्रमा परेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । सर्वेक्षणमा पाँच हजार ६० परिवारलाई सहभागी गराइएको थियो । उच्च हिमाली क्षेत्रका शतप्रतिशत सहभागीले २५ वर्षअघिको तुलनामा खडेरी, पहिरो, हिमपहिरो र रोग÷कीराको प्रकोप बढेको अनुभव सुनाएको सर्वेक्षण प्रतिवेदनका मुख्य अंशको प्रस्तुति गर्नुहुँदै विभागका निर्देशक सुशीलकुमार शर्माले बताउनुभयो । सहभागीलाई १०० प्रश्नावली सोधिएको थियो ।

समशीतोष्ण क्षेत्रका ६४.०५ प्रतिशत परिवारले आगलागीको घटनामा वृद्धि भएको बताएका छन् । त्यस्तै ७०.२५ प्रतिशत सहभागीले २५ वर्षअघिको तुलनामा अहिले अन्नबालीमा नयाँ रोग देखा परेको, ६६.०९ प्रतिशतले नयाँ कीराको प्रकोप बढेको, ४५.९८ प्रतिशतले घरपालुवा जनावरमा नयाँ रोग देखा परेको, १८.५९ प्रतिशतले तापक्रम वृद्धिका कारण लाग्ने रोग बढेको र २०.६७ प्रतिशतले पानीका कारण लाग्ने रोग बढेको जवाफ दिएका छन् ।

सर्वेक्षणले ७४.२९ प्रतिशत परिवारको पानीको मुहानमा परिवर्तन भएको देखाएको छ । त्यस्तै ८४.४७ प्रतिशतले जमिनको सतहको पानीको मात्रामा ह्रास आएको अनुभव सुनाएका छन् । हिमाली क्षेत्रका ७४.५६ प्रतिशत परिवारले पानीका केही मुहान पूर्णरुपमा सुकेको गुनासो गरेका छन् ।

सर्वेक्षणमा सहभागी गराइएका ९२.०३ प्रतिशत परिवारले कृषि जमिनमा मिचाहा झारको प्रकोप बढेको बताएका छन् । फलस्वरुप कृषि उत्पादनमा कमी भई आय स्रोतमा समेत असर गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव तुलसीप्रसाद गौतम, विभागका महानिर्देशक सुमनराज अर्याल, पूर्वउपमहानिर्देशक डा रुद्र सुवाल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभागका प्रमुख प्रा केदार रिजाल, विभागका निर्देशक ढुण्डीराज लामिछाने, सर्वेक्षणका लागि प्राविधिक सहयोग गरेको प्राक्टिकल एक्सनका गेहेन्द्र गुरुङले पहिलोपटक गरिएको जलवायु परिवर्तनसम्बन्धी सर्वेक्षणलाई निरन्तरता दिइनुपर्नेमा जोड दिनुभयो ।

सर्वेक्षण १६ जैविक क्षेत्र र २५३ प्राथमिक नमुना एकाइमा आधारित भई गरिएको थियो । सर्वेक्षणमा सहभागी ४९.३३ प्रतिशतले जलवायु परिवर्तनका बारेमा सुनेको जवाफ दिएका थिए ।

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००