१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

राजपाकै समझदारीमा निर्वाचन सारिएको : नेता निधि



चितवन, ६ असार । नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताउनुभएको छ ।

आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै स्थानीय तहको निर्वाचन असोजमा सारिएको बताउनुभयो ।

दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेस पहिलो शक्ति हुने दाबी गर्दै नेता निधिले असार १४ गतेको निर्वाचन प्रारम्भ भइसकेकाले कसैको तागतले रोक्न नसक्ने समेत बताउनुभयो ।

एक फरक प्रसङ्गमा बोल्दै नेता निधिले भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गर्न सर्वोच्चले रोक्न नहुने बताउनुभयो । निर्वाचन आयोगले पुनः मतदान गर्ने भनिसकेकाले अब सर्वोच्च अदालत संवैधानिक आयोगको निर्णयविरुद्ध जान नसक्ने उहाँले बताउनुभयो ।

सर्वोच्चको निर्णय आइसकेपछि कुनै पनि समयमा वडा नम्बर १९ को मतदान हुने भन्दै उहाँले निर्वाचनमा जुट्न सबैलाई आग्रह समेत गर्नुभयो ।

प्रकाशित : ६ असार २०७४, मंगलबार ००:००