१४ चैत्र २०८०, बुधबार । March 27, 2024

ग्लोबल

यमनमा भएको हवाई आक्रमणमा चौबिस जनाको मृत्यु



साना (यमन), ४ असार । उत्तरी यमनको एक बजारमा आइतबार हवाई आक्रमण हुँदा कम्तीमा २४ जना सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन् ।

यमनी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा उनीहरुको मृत्यु भएको यमनी सुरक्षाकर्मीले नाम गोप्य राख्ने सर्तमा बताए ।

प्रायजसो मृतक साउदी अरबको सिमानामा रहेको सादा प्रान्तको मासनाक बजारमा काम गरिरहेका यमनी नागरिक रहेको बताइएको छ । सादा प्रान्त यमनी विद्रोहीको प्रभाव क्षेत्र हो ।

यमनमा इरानद्वारा सहयोग प्राप्त हुथी विद्रोहीविरुद्ध अरब गठबन्धन सेनाले सन् २०१५ देखि हवाई आक्रमण गर्दै आएको छ ।

गठबन्धन सेनाले विद्रोहीले सर्वसाधारणलाई मानव ढालका रुपमा प्रयोग गर्दै आएको दाबी गरेको छ । सेनाले सो आक्रमणमा आफ्नो संलग्नता रहेको वा नरहेको बारे केही प्रतिक्रिया दिएको छैन ।

प्रकाशित : ४ असार २०७४, आइतबार ००:००