१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

भरतपुर प्रकरणलाई असामान्य तवरले प्रचार गरिएकामा दुःख छः प्रम



काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण दिशामा मुलुक अगाडि बढेको बताएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकलाई विशेष सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण आधारका रुपमा स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढेको र त्यसले हिमाल, पहाड र तराईबीचको एकतालाई कायम गरेको बताए । संविधान गतिशील दस्तावेज भएकाले संशोधन हुँदै जाने भन्ने प्रतिबद्धता विगतमा व्यक्त गरिएको स्मरण गर्दै उनले थारु, मधेसी र आदिवासी जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास जारी रहेको र त्यो निकट भविष्यमा पूरा हुने विश्वास व्यक्त गरे ।
संविधान संशोधन विधेयकमाथि खुला दिलले छलफल गर्नु आवश्यक छ भन्दै प्रधानमन्त्रीले आन्दोलनरत पक्ष, प्रतिपक्ष र सत्तापक्ष सबैलाई स्वीकार गर्न सक्ने गरी तयार गरिएको प्रस्तावलाई सकारात्मक निष्कर्षमा पु¥याउनु जरुरी रहेको स्पष्ट पारे । राष्ट्रिय एकतालाई कायम राख्न कोही न कोहीले त्याग गर्नु जरुरी छ भन्दै उनले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने जस्तो दृष्टिकोणले काम नगर्ने भएकाले प्रतिपक्षले पनि राष्ट्रिय आवश्यकतालाई ख्याल गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का बीचमा सरकार गठनका समयमा नै भएको सहमतिअनुसार नै आफूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगाडि राजीनामा दिएको जानकारी दिए ।
काँग्रेसका सभापति शेरबहादुर देउवाले दबाब दिएर प्रधानमन्त्रीबाट राजीनामा दिएको होइन भन्दै प्रधानमन्त्री दाहालले आफूले राजनीतिमा इमान र नैतिकता पनि छ भन्ने स्थापित गर्न चाहेको उल्लेख गरे ।
संविधान घोषणा भएपछि गठन भएपछि एमाले र आफ्नो पार्टीबीच भएको समझदारी तोडिएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विगतदेखि नै सरकारका सन्दर्भमा भएका सहमति तोडिएको अवस्थामा अब राजनीतिमा इमान र नैतिकता छ भन्ने स्थापित भएको उल्लेख गरे ।
निर्वाचन आयोगले गर्ने नियमित कामको विषय संसद्मा ल्याएर घोलमेल गरिएको छ भन्दै प्रधानमन्त्री दाहालले भरतपुर प्रकरणको विषयलाई लिएर संसद् अवरुद्ध गर्नु लोकतन्त्रको प्रमुख पक्ष कसरी हुन गयो प्रश्न गरे । भरतपुर प्रकरणमा मतपत्र च्यातिएको विषय सुन्नेबित्तिकै आफूले सो कार्य सही होइन भनी निर्वाचन आयोगलाई बोलाएर कानुनअनुसार गर्न आग्रह गरेको जानकारी दिए ।
प्रधानमन्त्रीले भरतपुर प्रकरणमा आफ्नो पार्टी र आफूलाई अनपेक्षित रुपमा आरोप लगाइएको, गलत प्रचार गरिएको र प्रमुख प्रतिपक्षले राजनीतिक लाभ उठाउन नाजायज विषय उचालेको आरोप लगाउँदै प्रधानमन्त्रीले एउटा घटनालाई देखाएर गलत प्रचार गरिनु मुलुक र जनताका लागि जायज र फाइदाजनक विषय नभएको स्पष्ट पारे । भरतपुरमा सबैभन्दा बढी ध्यान गएकाले निष्पक्ष र भयरहित रुपमा चुनाव सम्पन्न हुने र अन्य क्षेत्रका लागि पनि सकारात्मक उदाहरण हुने स्पष्ट पारे ।
प्रधानमन्त्रीले भने, “इतिहासदेखि आजसम्म मैले व्यक्त गरेको लोकतन्त्रप्रतिको निष्ठाको कति प्रमाण चाहियो ? बाह्रबुँदेदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा आफ्नो पार्टीले गरेको त्याग र बलिदानको कति प्रमाण चाहियो ? प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि मेरो प्रश्न छ ।”
प्रतिपक्षलाई विश्वासमा नलिइएको भन्ने एमालेको भनाइ जायज नभएको स्पष्ट पार्दै उनले संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत अन्य विषयमा आफूले निरन्तर छलफल र संवाद गरेको स्मरण गराए । प्रधानमन्त्रीले भने, “प्रमुख प्रतिपक्षी दलमा सबैभन्दा बढी दम्भ देखिएको छ । त्यो दम्भले कोही कसैको फाइदा गर्दैन, स्वयम् एमालेलाई पनि फाइदा गर्दैन ।”
नेपाली सेनाले नै पहल लिएर काठमाडौँ तराई मधेस द्रुतमार्ग अगाडि बढेको र आफूले प्रधानमन्त्रीको हैसियतले शिलान्यास गरेको जानकारी दिँदै प्रधानमन्त्रीले आफूलाई त्यसमा जस नचाहिएको धारणा राखे ।
राजनीतिक दललाई मिलाएर देशमा आर्थिक एवम् औद्योगिक वातावरण नबनाएको भए र विद्युत्भार कटौती अन्त्य नगरेको भए आर्थिक वृद्धि ७.२ प्रतिशतको हाराहारीमा विगतको बजेटले मात्रै नहुने स्पष्ट पारे । राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने विषयमा प्रमुख दलबीच अझै सहमतिको आवश्यकता छ भन्दै उनले कोही कसैको मानमर्दन गरेर राष्ट्रिय आवश्यकता भुल्न नहुने र राष्ट्रिय अपेक्षा विपरीत जान नहुने धारणा राखे ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलबार ००:००