६ बैशाख २०८१, बिहिबार । April 18, 2024

अर्थ

होमस्टे सञ्चालन गर्न सहरबाट गाउँ फर्किदै



बेँसीसहर (लमजुङ), २३ जेठ । पर्यटक आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् ।
गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ती सहरबाट गाउँ फर्कनेको सङ्ख्या बढ्दै गएको छ । गाउँमा पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले बँेसीसहर छोडेर गाउँ फर्किएको सिउरुङकी मिश्रिमाया घलेको भनाई छ । होमस्टे (घरबास)मा सञ्चालन गर्न गाउँ आएको उनको भनाइ छ ।
“सहरमा भन्दा गाउँमै बसेर मनग्य आम्दानी गर्ने लक्ष्य छ,” उनले भने “सहरमा आम्दानी भन्दा खर्च बढी हुन्छ, बचत गर्नै मुस्किल, तर गाउँमा आम्दानीसँगै अन्य घरायसी काम पनि गर्न पाइन्छ, त्यसैले हामी गाउँमै फर्किएका हौँ ।”
गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीयवासी निकै उत्साहित भएका छन् । पर्यटकलाई राम्रो सेवा र सुविधा दिनका लागि यहाँका १५ घरमा व्यवस्थित घरबास पूर्वाधार निर्माण भइसकेको छ । घरबास सञ्चालनका लागि गाउँ फर्किएका अहिले दैनिक गाउँमा आएका पाहुनाको स्वागतसत्कारमा व्यस्त हुनेगरेका छन् । तीमध्ये कतिपयले घरबासको मापदण्ड बमोजिमका संरचना निर्माण गर्न थालेका छन् ।
अहिले सिउरुङमा दैनिक ३० जनाको हाराहारीमा पर्यटक आउन थालेको सिउरुङ पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताउनुभयो । गाउँमा एकसाथ ८० जनासम्म पाहुनालाई राख्न सकिने उहाँको भनाइ छ ।
“कहिलेकाहीँ त ८० जना भन्दा बढी पाहुना आउँछन् व्यवस्थापन गर्न निकै अप्ठेरो हुने गरेकोछ” उनले उनले सुनाइन् “जिल्लामा भन्दा बाहिरका विद्यालय तथा क्याम्पसका विद्यार्थी ठूलो समूहमा आउने गरेका छन् ।”
दैनिक पर्यटकको चहलपहलले गाउँमै रमाइलो हुनेगरेको सिउरुङ फर्कनुभएका नन्दबहादुर गुरुङ बताउँछन् । “गाउँको हावापानी राम्रो छ, सामान्य मेहेनत गरेरपनि मनग्य आम्दानी हुन्छ” उनले भने “दैनिक पर्यटकको आगमनले गाउँनै सहर जस्तो भएको छ ।”
पर्यटन व्यवसायकै निम्ती छोराछोरीलाई छात्रवासमा राखेर गाउँ फर्किएको सिउरुङकी चन्द्रकाशी गुरुङ बताउँछन् । “बँेसीसहर बस्दा खर्चमात्रै हुन्थ्यो, आम्दानी गर्न सकिन्न,” उनले भने “अहिले गाउँमा आएर घरबास सञ्चालन गरेपछि छोराछोरीलाई पढाउने खर्च जोहो भएको छ ।”
सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । समुद्री सतहदेखि एक हजार ८५४ मिटर उचाइमा अवस्थित सिउरुङमा एक सय १५ घर रहेका छन् । प्राकृतिक सुन्दरता, न्यानो आतिथ्यता, गुरुङ संस्कृतिमा प्रख्यात सिउरुङ गाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
चेस नेपाल’ नामक गैरसरकारी संस्थाले सो गाउँको प्रवद्र्धनको लागि पर्यापर्यटन कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम सञ्चालन भएपछि पर्यटन व्यवसाय थप फस्टाएको सचिव गुरुङले बताए । सिउरुङमा स्थानीय आमा समूहको सक्रियतामा सामूहिक पाहुना घर छ । स्थानीय महिला गाउँ घुम्न आउने पाहुनाको स्वागत सत्कारका लागि समूह घरमा जम्मा हुनेगर्छन् ।
गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुना घरमा राखेर सत्कार गर्नु, सोरेठी, घाँटू, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङवासीको चलन हो । स्थानीयवासीले गाउँमै उत्पादन गरेका मकै, धान, कोदो, भट्टमासलगायत हरियो सागसब्जी, गेडागुडी, गाउँमै पालिएका भेडा, खसी तथा कुखुराको मासु खुवाउने गर्छन् । स्थानीयवासीको स्वागत सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको छ ।
गुरुङ जातिको पुरानो संस्कृति तथा संस्कार जोगाइ राख्न पनि यस्ता कार्यक्रम उपयोगी भएको छ । वृद्धवृद्धाले धान्दै आएका यस्ता कार्यक्रम पछिल्लो समय युवायुवतीले पनि सिको गर्दै आएका छन् । सिउरुङबाट मनास्लु, माछापुच्छे«, बौद्ध, लमजुङ, अन्नपूर्णलगायतका हिमाल आँखै अगाडि देखिन्छन् । यहाँबाट सूर्योदयको दृश्य पनि हेर्न सकिन्छ ।
सदरमुकाम बँेसीसहरदेखि सिउरुङ गाउँसम्म मोटर पुगेको छ । हिँडेर आउन नसक्नेका लागि मोटरबाटो निर्माणपछि सजिलो भएको छ । बँेसीसहरदेखि करिब दुई घन्टाको गाडीको यात्रापछि सिउरुङ पुग्न सकिन्छ । सिउरुङबाट थुर्जु–दुधपोखरी हँुदै कास्कीको पर्यटकीय गाउँ सिक्लेस–ताङतिङ जाने बाटो समेत छ । सिउरुङ गाउँबाट कालाघिरिङ हँुदै अन्नपूर्णा पदयात्रा मार्गको च्याम्चे र नामुन भञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा बाटो रहेको छ । ती पदमार्ग मार्ग सञ्चालन हुनसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलबार ००:००