९ चैत्र २०८०, शुक्रबार । March 22, 2024

अर्थ

थपिँदै ठूला लगानीका होटल



तेह्रथुम, २३ जेठ । बर्सेनि ठूला लगानीका होटल खुल्ने लहर चलेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी जिल्लाका विभिन्न बजारमा सुविधा सम्पन्न होटल खुलिरहेका छन् । यसरी खुलेका होटल तथा रिसोर्ट पर्यटकलाई आकर्षित गर्ने ध्येयले सञ्चालित छन् । हालसालै फेदाप गाउँपालिका– २, ओयाक्जुङमा अत्याधुनिक सेवा सुविधासहितको साङ्ग्रिला रिसोर्ट सञ्चालनमा आएको छ ।
प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाको परिकार, स्थानीय उत्पादन र परम्परागत खाना, पौडी पोखरीलगायतका सुविधा रहेको छ । करिब रु एक करोडको लागतमा खुलेको सो रिसोर्टमा आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । अग्र्यानिक स्थानीय उत्पादनको प्रवर्धन र पर्यटन विकासमा समेत टेवा पु¥याउने उदेश्यले रिसोर्ट सञ्चालन गरिएको सञ्चालक दुर्गाबहादुर लिम्बु बताउनुहुन्छ । यहाँ पुग्न सदरमुकाम म्याङलुङदेखि करिब आधा घन्टाको यात्रा तय गर्नुपर्छ ।
यस्तै म्याङलुङ नगरपालिका– ३ पिप्लेमा ‘डाउनहिल कटेज’ सञ्चालनमा आएको छ । सो कटेजमा लोकल कुखुरा, लोकल माछा, लोकल खसी, अग्र्यानिक तरकारी र स्वादिष्ट खाद्य परिकारले ग्राहकलाई तानिरहेको छ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्धनकै लागि सो व्यवसाय थालेको सञ्चालक राजु गड्तौला बताउँछन् । रु ५० लाखको लागतमा सो कटेज सञ्चालनमा आएको हो ।
पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य नै बनेको अर्को रिसोर्ट हो लालीगुराँस नगरपालिका–९, लसुनेको ‘ब्लाक वाटर रिसोर्ट’ । पहिलेदेखि नै कालापानी नामले परिचित उक्त ठाउँमा माछापालनसमेत गरिएको छ । ट्राउट माछाको स्वाद चाख्न र फार्म हेर्नकै लागि पनि यहाँ सयौँ आन्तरिक पर्यटक आउने गरेका सञ्चालक धर्मराज खड्काले बताए ।
“गुराँस हेर्न र रमाउन आउनेको सङ्ख्या अत्यधिक छ,” उनले । पछिल्लो समय जिल्लाको म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती, शुक्रबारे र सक्रान्तिबजारलगायत क्षेत्रमा आकर्षक सुविधायुक्त होटल थपिएका छन् । लालीगुराँस, ढाका, ह्यात्रुङ झरनालगायत थुप्रै पर्यटकीय क्षेत्रले परिचित जिल्लाका बजारमा पर्यटक लक्षित होटल थपिने क्रम बढेको होटल व्यवसायीय सङ्घका सचिव चेतन सुवेदीले बताए ।
सरकारले नमुना सहर बनाउने घोषणा गरेसँगै वसन्तपुर बजारमा होटल व्यवसाय फष्टाउँदै गएको छ । दुई वर्ष यता वसन्तपुर बजारमा दर्जन बढी सुविधायुक्त होटल थपिएका छन् । अव्यवस्थित रुपमा सञ्चालनमा रहेका होटल पुनः व्यवस्थापन र स्तरोन्नति गर्ने क्रम बढेको छ । हालसालै मात्रै नयाँ भवन निर्माण गरेर पर्यटक लक्षित सुविधायुक्त सेवा थप गरी होटलको व्यवस्थापन गरेको याक होटलका सञ्चालक छिरिङ भोटियाले बताए ।
पर्यटकीयस्थल तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारसमेत रहेको वसन्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएकाले पनि होटल व्यवसायमा लगानी गर्न व्यवसायी आकर्षित भएका हुन् । अहिले वसन्तपुर बजारमा मात्र साना ठूला गरी ५२ वटा होटल सञ्चालनमा छन् । ती होटलमा रु ५० लाख भन्दा बढीको लगानी रहेको छ ।
“व्यवसायीको उत्साह र हौसला बढाउन कतैबाट ध्यान पुगेको छैन,” तेह्रथुम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष महेन्द्र काफ्लेले भन्नुभयो । जिल्लाका पर्यटकीय क्षेत्रको विकास र विस्तारका साथै प्रचारप्रसारमा उचित ध्यान पु¥याउन सके आर्थिक रुपमा जिल्ला चाँडै समृद्ध बन्नसक्ने उहाँको भनाइ छ । जिल्लाको पर्यटन विकासका लागि मध्यपहाडी लोकमार्ग कोसेढङ्गा सावित हुने देखिन्छ । उक्त लोकमार्ग बनेपछि यहाँ होटल व्यवसाय फस्टाउने काफ्लेको भनाई छ ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलबार ००:००