५ बैशाख २०८१, बुधबार । April 17, 2024

मुख्य खबर

नेपाल चीन सम्बन्ध नयाँ उचाइमा



काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा नेपालले हस्ताक्षर गरेपछि पारस्परिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।
चीन–तिब्बत सांस्कृतिक मञ्चको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्री महराले परम्परागत नेपाल–चीन सम्बन्ध पछिल्ला दिनमा अझ विस्तारित भएको बताए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जुनसुकै पार्टीको नेतृत्वमा नेपालमा सरकार गठन भए पनि एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध रहने बताउँदै नेपालप्रति आशङ्का नगर्न चिनियाँ मित्रहरुलाई आग्रह गरे ।
नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अत्यन्त पुरानो रहेको र भृकुटी र स्रङ्चङगम्पोले अझ मजबुत तुल्याएको बताउँदै नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने दृढता व्यक्त गरे ।
तिब्बतसम्बन्धी चिनियाँ अनुसन्धान केन्द्रका नायब महानिर्देशक आन चीले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण आधार बुद्ध धर्म हो भन्दै शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालप्रति चिनियाँहरुमा अगाध स्नेह रहेको बताए ।
नापाल अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठले नेपाल–चीन जनस्तरको सम्बन्धलाई पनि उत्तिकै महत्वका साथ लिनुपर्नेमा जोड दिए । दुईदिनसम्म सञ्चालन हुने उक्त मञ्चमा चीनका १७ र नेपाली १५ जना विद्वानले भाग लिएका छन् । साथमा तिब्बतसम्बन्धी तस्बिर र पुस्तक प्रदर्शनीका पनि आयोजना गरिएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलबार ००:००