१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

मुख्य पदका उम्मेदवार टुङ्ग्याउँदै दल



तेह्रथुम, १४ जेठ । जिल्लाका दुई नगरपालिका र चारवटै गाउँपालिकाका मुख्य पदमा ठूला राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त छन् ।
एउटै पदमा पाँच जनासम्म आकांक्षी देखिएपछि दललाई उम्मेदवार चयन गर्न सकस परेको हो । जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रमुख पदमा नेपाली काँग्रेस, नेकपा एमाले र (माओवादी केन्द्र)ले अहिलेसम्म कसैले पनि घोषणा गरेका छैनन् ।
दलहरुले वडास्तरमका अधिकांश ठाउँमा सबै उम्मेदवार सर्वसम्मत बनाएको बुझिएको छ । जिल्लाका सबै ४३ वटै वडाको उम्मेदवारी चयन सकिए पनि नगरपालिका र गाउँपालिकाको प्रमुख–उपप्रमुख पदको उम्मेदवार चयन नसकिएकाले औपचारिक रुपमा घोषणा गर्न अझै केही दिन लाग्ने सम्बद्ध दलका पदाधिकारीले बताएका छन् । केही उम्मेदवारले भने आफ्नो दलको आधिकारिक घोषणा बिना प्रचारप्रसार समेत सुरु गरेका छन् ।
उम्मेदवारको फोटो टाँसेर बनाइएका प्रचारका सामग्री सामाजिक सञ्जालमा छाएका छन् भने सार्वजनिक रुपमै समेत प्रचार थालिएको छ ।
नेकपा ९माओवादी केन्द्र०ले भने काँग्रेस र एमालेसँग गठबन्धनको प्रयास गर्दै कुरा नमिलेका स्थानमा मात्रै एकल उम्मेदवारी दिने जनाएको छ ।

नेपाली काँग्रेसले सदरमुकाम म्याङलुङमा केन्द्रीय सदस्य सीता गुरुङ, सभासद् गणेश विमलीसहित जिल्लाका नेताको बैठकबाट समेत सबै स्थानको सहमति जुटाउन नसकेपछि उम्मेदवारको टुङ्गो लगाउन केन्द्रीय समितिमै पठाएको छ ।
जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकाका प्रमुख पदमा सहमतिबाटै उम्मेदवार छानिएको काँग्रेस जिल्ला सभापति गोविन्द ढङ्गानाले बताउनुभयो । तर एउटा गाउँपालिकाका आकांक्षीबीच सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिमा पठाइएको हो ।
उनका अनुसार काँग्रेसले लालीगुराँस नगरपालिकाको प्रमुखमा अर्जुनबाबु मावोहाङ र उपप्रमुखमा तिला पोखरेल, म्याङलुङ नगरपालिकाको प्रमुखमा रणविक्रम (कमल) सुब्बा, छथर गाउँपालिकाको प्रमुखमा टेकराज तिगेला, मेन्छ्यायेम गाउँपालिकाको प्रमुखमा देउमान लिम्बू र आठराई गाउँपालिकाको प्रमुखमा नारायणकुमार इङनामलाई उम्मेदवार बनाएको छ ।
फेदाप गाउँपालिकामा भने आकांक्षी केशवप्रसाद भेटुवाल, चन्द्र मादेम्बा र महेन्द्र फोम्बोबीच सहमति जुटाउन नसकिएपछि केन्द्रीय समितिमै पठाइएको सभापति ढङ्गानाले बताए । म्याङलुङ नगरपालिकासहित छथर, मेन्छ्यायेम र आठराई गाउँपालिकाको उपप्रमुख र उपप्रमुख पदका उम्मेदवार पनि चयन भइनसकेको उनले बताए ।
एमालेले केही दिन अगावै जिल्ला कमिटिबाट उम्मेदवारको नाम सिफारिस गरेर प्रदेश कमिटिमा पठाएको छ प्रदेश कमिटिलाई पनि उम्मेद्वारको टुङ्गो लगाउन कठिन भएको बताइएको छ
एमालेले म्याङलुङ नगरपालिकाको प्रमुखमा सञ्जयकुमार तुम्बाहाम्फे र उपप्रमुखमा पार्वता सानु डाँगी तथा लालीगुराँस नगरपालिकाको प्रमुखमा कलम खड्का र उपप्रमुखमा जमुना मगरलाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै छथर गाउँपालिकाको प्रमुखमा सन्तोष तिगेला र उपप्रमुखमा तारा ढकाल, मेन्छ्यायेम गाउँपालिकाको प्रमुखमा यादवबहादुर खापुङ र उपप्रमुखमा दिलकुमारी शङ्कर, फेदाप गाउँपालिकाको प्रमुखमा हरिबहादुर चोङवाङ र उपप्रमुखमा गीता थापा, तथा आठराई गाउँपालिकाको प्रमुखमा विष्णुविक्रम कन्दङवा र उपप्रमुखमा रुपा कन्दङवालाई उम्मेद्ववार बनाउने निर्णय भएको एमाले प्रदेश नं– १ सदस्य तेजमान कन्दङवाले बताए ।
जिल्लामा राप्रपा, नेकपा माले, नयाँ शक्ति नेपाल, सङ्घीय लिम्बूवान मञ्चलगायत साना दलले पनि एकल उम्मेद्वारी भन्दा समीकरणको अभ्यासलाई जोड दिएका छन् । नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरमले संयुक्त रुपमा उम्मेद्वारी दिने भएका छ ।
तथापि जिल्लामा स्थानीय तह निर्वाचनमा विशेषतः काँग्रेस–एमालेबीचमै विशेष प्रतिस्पर्धा हुने निश्चित छ । स्थानीय तहको निर्वाचन भएकाले मतदातामा कुन दलको को उम्मेद्वार छ । भनेर अत्यधिक चासो भएपनि अहिलेसम्म दलहरुले आफ्नो आधिकारिक उम्मेद्ववार टुङ्गो लगाउन नसकेकाले मतदातामा अन्योलता छाएको छ । मतदातालाई राजनीतिक दलका उम्मेद्ववारमा मात्र होइन, ती दलले के–कस्ता विकासका एजेन्डा अघि सारेका छन् । भन्नेमा पनि अत्यधिक चासो भएपनि अहिलेसम्म कुनै पनि दलले घोषणा पत्रसमेत सार्वजनिक नगरेकाले मतदाता अन्यौलमा छन् ।

प्रकाशित : १४ जेष्ठ २०७४, आइतबार ००:००