१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

चट्याङ लागेर एक महिलाको मृत्यु, चार घाइते



सुरुङ्गा ९झापा०, ७ जेठ । शनिबार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार हल्दिबारी–३ निवासी ५० वर्षीया लीला बानियाँको चट्याङले लागेर मृत्यु भएको हो । उनलाई शनिबार साँझ चट्याङ लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल, भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

चट्याङकै कारण सोही ठाउँ निवासी राधिका बानियाँका ११ वर्षीय छोरा अनिल बानियाँ र महेश बानियाँकी श्रीमती २३ वर्षीया सोरधनी मिस्त्री घाइते भएका छन् । उनीहरुको मेची अञ्चल अस्पताल, भद्रपुरमा उपचार भइरहेको जिप्रका, झापाले जनाएको छ ।

उता हल्दिबारी–४ निवासी ५५ वर्षीया नर्बदा पोख्रेल र गौरादह–२ निवासी १९ वर्षीय गोपाल तामाङ चट्याङ लागेर घाइते भएका छन् ।

चट्याङ लागेर बेहोस भएका तामाङको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ भने पोखे्रलको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जिप्रका, झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो । रासस

प्रकाशित : ७ जेष्ठ २०७४, आइतबार ००:००