९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने डर



जुम्ला, २८ वैशाख । मतदाता शिक्षा प्रभावकारी नहुँदा अधिकतम मत बदर हुने डर भएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले जनाएको छ ।
बुधबार आयोगको उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित ‘मानवअधिकार र निर्वाचन’ विषयक अन्तरक्रियामा यो कुरा प्रस्ट जनाइएको हो । उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त निर्देशक मानबहादर कार्कीले अनुगमनका क्रममा मतदाता शिक्षाअन्तर्गत मत कसरी हाल्ने भन्ने विषयमा खासै मतदातालाई जानकारी नभएको बताए ।
“जिल्ला निर्वाचन कार्यालय जुम्लाले ८३ मतदाता शिक्षा कार्यकर्ता खटाए पनि अनुगमनमा जाँदा मतदातासम्बन्धी जान्नुपर्ने कुरा नागरिकलाई सूचित नभएको पाइयो, यसले मतपत्र बढी नै बदर हुने देखिन्छ,” उनले भने ।
उपक्षेत्रीय कार्यालय जुम्लाका नायब सुब्बा राजेन्द्र न्यौपानेले निर्वाचनको समयमा जुम्लाको मानव अधिकारस्थिति समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा कर्णालीको जुम्ला, कालीकोट र मुगुमा आयोगको टोलीले अनुगमन गरेको, उम्मेदवारी दर्तादेखि आजको दिनसम्म शान्तिपूर्ण अवस्था रहेको, नासु न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको थियो । उहाँले आयोगले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् विशेष अनुगमन गर्ने योजना बनाएको जानकारीसमेत दिए ।
अन्तरक्रिया कार्यक्रममा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले नागरिकलाई मतदानसम्बन्धी शिक्षा व्यापक नगरिएको गुनासो गर्नुभयो । उहाँले मतदाता शिक्षाका लागि प्रचार प्रसारमा लगानी कम भएको बताउनु जनाउनुभयो । जुम्लाका पत्रकारले जिल्लामा सूचना दिनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कन्जुस्यार्इं गरेको गुनासो गरे ।
उम्मेदवारी दर्ताको समयमा सूचना माग्दा पनि व्यस्त छौँ भन्ने, फोन नउठाउने तथा स्विच अफ गर्ने गरेको दुःखेसो उनीहरुको थियो । महिला विकास अधिकृत गोमा प्रसार्इंले जिल्लामा मानव अधिकारको विषयमा लैङ्गिक समानताको सवाललाई मुख्यरुपमा ध्यान दिन आग्रह गरेका थिए ।

प्रकाशित : २८ बैशाख २०७४, बिहिबार ००:००