३ बैशाख २०८१, सोमबार । April 15, 2024

मुख्य खबर

उम्मेदवारहरु घरदैलो कार्यक्रममा



चौतारा, २६ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवार मतदाताहरुसँग भोट माग्न घरदैलो कार्यक्रममा जुटेका छन् ।
कतिपय पार्टीहरुले अन्तिम समयमा मात्र उम्मेदवारको टुङ्गो लगाएको हुँदा निर्वाचन कार्यालयमा मनोनयन दाखिला गरी अन्तिम नामावली प्रकाशन भएपछि प्रचारप्रसारमा तीव्रता दिई भोट माग्न जनताको घरदैलो कार्यक्रममा उनीहरु जुटेका हुन् ।
तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोक जिल्लामा नेपाली काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, राप्रपा तथा विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवार नगरपालिकाको प्रमुखलगायत अन्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेसमेत भोट माग्न गाउँ गाउँमा जान थालेका छन् ।
विगत दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पहिलोपटक मतदान गर्न पाएकामा खुसी व्यक्त गर्दै चौतारा साँगाचोकगढी नगरपालिका–७ का २२ वर्षीय समीर केसीले पहिलोपटक भोट दिन पाएकामा कौतुहल र खुसी पनि लागेको बताए ।
निर्वाचनमा विभिन्न दलले उम्मेदवारी दिए पनि मुख्य रुपमा काँग्रेस, एमाले र माओवादी केन्द्रका बीचमा प्रतिस्पर्धा हुने विश्लेषक बताउँछन् । कुनै ठाउँमा राप्रपाको स्थिति पनि राम्रो देखिएको स्थानीयवासीको भनाइ छ । निर्वाचनमा मतदान गर्न राजधानीलगायत अन्य ठाउँमा गएका मतदाता पनि धमाधम घर फर्कन थालेका छन् ।
नेपाली काँग्रेसको मजबुत क्षेत्रका रुपमा रहेको सांसद मोहनबहादुर बस्नेतको गृह स्थान बाह्रबिसे नपामा नेपाली काँग्रेसलाई हराउन माओवादी केन्द्र र राप्रपाले चुनावी तालमेल गरेका छन् । वर्षौंदेखि काँगे्रस कार्यकर्ता रहेका बुद्धराज बस्नेतले टिकट नपाएपछि माओवादी केन्द्र प्रवेश हुनासाथ नगरप्रमुखको टिकट पाएकाले काँग्रेसलाई पराजित गर्न तालमेल गरेको बताइएको छ ।
यसपटकको निर्वाचनमा दुई पत्रकारले समेत उम्मेदवारी दिएका छन् । पत्रकार भक्तध्वज बोहोराले त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुख र पत्रकार लक्ष्मी पौडेलले सुनकोसी गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सोमबारदेखि कर्मचारी खटाएको छ । जिल्लामा १४४ मतदान केन्द्रका लागि उपसचिवदेखि सहायकस्तरसम्म एक हजार ५०० कर्मचारी खटाइने र उनीहरु बुधबारसम्म मतदान केन्द्रमा पुगिसक्नुपर्ने छ । मतदान केन्द्रअनुसार घटीमा पाँच र बढीमा सातजनासम्म कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले बताए ।
त्यसैगरी मतदान केन्द्रमा पाँच प्रहरी र पाँच म्यादीसहित १० जना र मतदानस्थलमा तीन प्रहरी र पाँच म्यादी प्रहरी खटाइने छ । जिल्लामा १९ नं। केन्द्र लाई विशेष संवेदनशील क्षेत्र मानिएको हँुदा सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ । यसका साथै प्रहरी उपरीक्षकको नेतृत्वमा १७ मोबाइल टोलीको समेत व्यवस्था मिलाइएको प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २६ बैशाख २०७४, मंगलबार ००:००