७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

हिमपातले निर्वाचन टोली  रोक्यो



डोल्पा(दुनै), १८ बैशाख – शनिवार सांझदेखि परेको वर्षाका कारण हिमपात भई शे फोक्सुण्डो गाउंपालिकाको निर्वाचन अधिकृतको कार्यालयको टोली सम्बन्धित गाउंपालिकाको कार्यालयमा नपुगी धो मै रोकिएको छ ।
वर्षाले धोबाट साल्दाङ जाने क्रममा पर्ने काङ्ला पास कट्न नसक्ने गरी हिमपात जमेका कारण शेफोक्सुण्डो गाउंपालिका निर्वाचन कार्यालयको टोली २ दिनदेखि धो मै अड्केको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । उनले थपे निर्वाचन आयोगमा जानकारी गराइ सकिएको र दरखास्त दिने समय मंगलवार विहानसम्म हेलिकोप्टरको व्यवस्था गरेर निर्वाचन टोली शेफोक्सुण्डो गाउंपालिकामा पुर्याउन समेत आग्रह गरी सकिएको छ ।
निर्वाचनका आवश्यक सामग्रीहरु आउन ढिलो भएकाले निर्वाचन अधिकृतको कार्यालयको माथिल्लो डोल्पाका सबै गाउंपालिकाका सम्पूर्ण टोलीहरु ढिलो गरी आफ्ना गाउंपालिका तर्फ लागेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
शनिवार सांझदेखि आइतवार दिन भर परेको वर्षाका कारण डोल्पाका उच्चबस्तिहरु शेफोक्सुण्डो गाउंपालिका, डोल्पोबुद्ध गाउंपालिका र छार्काताङसोङ गाउंपालिकाका सबै गाउंबस्तिहरुमा हिमपात भएको स्थानीय ओम रोकाले बताए । माथिल्लो डोल्पामा मात्र होइन काइके गाउंपालिका, ठुलीभेरी नगरपालिका, जगदुला गाउंपालिकाका उच्च बस्तिहरुमा समेत हिमपात भएको छ ।
ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, जगदुला गाउंपालिका र मुड्केचुला गाउंपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेका छन् । स्थानपना भएका कार्यालयहरु मध्ये मुड्केचुला गाउंपालिकाको निर्वाचन कार्यालयको साइनबोर्ड आइतवार राति गाएब भएको बताइएको छ । यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रकाशित : १९ बैशाख २०७४, मंगलबार ००:००