७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

एमालेको घोषणापत्र तयार: वृद्धभत्ता ५ हजार पुर्‍याउने प्रतिबद्धता



काठमाडाैं : एमालेले स्थानीय तहको निर्वाचन घोषणापत्र तयार गरेको छ । आइतबार औपचारिक कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिने सचिव योगेश भट्टराईले बताए ।

उपाध्यक्ष वामदेव गौतम नेतृत्वको १५ सदस्यीय समितिले घोषणापत्रको मस्यौदा तयार गरेको थियो । शुक्रबार बसेको स्थायी समिति बैठकले २६ पृष्ठको घोषणापत्र पारित गरेको हो । पारित घोषणापत्रको भाषा सम्पादनको जिम्मेवारी उपाध्यक्ष भीमबहादुर रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई दिइएको छ ।

यस्तो छ, मूल नारा
एमालेले ‘संघीयता, समृद्धि र समाजवादको आधार : नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार’ भन्ने चुनावी मूल नारा बनाएको छ । समाजवादकेन्द्रित अर्थतन्त्रको विकासमा जोड दिइएको घोषणापत्रमा लोकप्रिय नारा र कार्यक्रमहरू समेटिएको नेताहरूले बताएका छन् ।

एक घर :  एक रोजगार कार्यक्रम
केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार ५५ बुँदे घोषणापत्रमा विभिन्न क्षेत्र र विषयहरू समेटिएका छन् । नयाँ युगको नयाँ निर्वाचन, नेकपा एमाले नेपाली जनताको सच्चा प्रतिनिधि, नेपाली जनताको सपना : समृद्ध समाजवादको स्थापना, राष्ट्रिय अर्थतन्त्रमा तीव्र वृद्धि : विद्युत् ऊर्जामा आर्थिक समृद्धिलगायतका बुँदामा केन्द्रित रहेर योजना र कार्यक्रमको व्याख्या गरिएको छ । त्यस्तै, एक घर : एक रोजगार, १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारीजस्ता महत्वाकांक्षी प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएका छन् ।

५ वर्षभित्र ५ हजार डलर प्रतिव्यक्ति आय
नेपालको प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्‍याएर दक्षिण एसियामै अगाडि आउने महत्वाकांक्षी योजना एमालेले घोषणापत्रमा छ । १५ वर्षभित्र चीन र भारतलाई विकासमा उछिन्ने, दश वर्षमा एसियाली मापदण्डको विकासको स्तरमा मुलुकलाई पुर्‍याउने, कक्षा १२ सम्मको शिक्षा निःशुल्कलगायतका विषय घोषणापत्रमा समेटिएका छन् ।

नयाँ पत्रिका दैनिकबाट

 

प्रकाशित : १६ बैशाख २०७४, शनिबार ००:००