१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

सुत्केरी आमा, पोसिलो खाना : सबैलाई स्वास्थ्य सेवा नेपाली कांग्रेस



ललितपुर, बैशाख  १३ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन २०७४ को लागि हालै सार्वजनिक गरेको घोषणापत्रमा “सबै नेपालीलाई भरपर्दो, स्तरीय र सुलभ स्वास्थ्य सेवा  ”  भन्ने मूल लक्ष्य अनुरुप स्वास्थ्य क्षेत्रको नीति र कार्यक्रम संचालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाली कांग्रेसले  आधारभूत र उपचारयोग्य स्वास्थ्योपचार सेवाको अभावमा कुनै पनि नेपाली नागरिकको अकालमा मृत्यु नहोस् भन्ने चाहानालाई मूर्तरुप दिने भएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा रहने  हरेक गाउँपालिकामा प्रसुती सेवा सहितको कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गरिनेछ । सबै नगरपालिकामा आवश्यकता हेरी २५ देखि ५० शैयाको आधुनिक अस्पताल निर्माण गरिनेछ । यी अस्पतालहरुलाई ठूला नगर क्षेत्र, प्रदेश र केन्द्रीय स्तरका अस्पताल सेवासँग आबद्ध गरिनेछ ।
नेपाली कांग्रेसले हाल निःशुल्क भईसकेको बाथ, मुटु रोग र मृगौला प्रत्यारोपणलाई थप सहज बनाउँदै निःशुल्क डायलेसिस सेवालाई स्थानीय तहसम्म विस्तार गर्दै लैजाने नीति अनुरुप कार्यक्रम तय  गर्नेछ । त्यस्तै महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षणलाई स्थानीय तहसम्म विस्तार गरिनेछ । हाल  गम्भीर प्रकृतिका मानिएका १२ रोगहरुमा दिइदै आएको उपचार सहायता अन्य रोगहरुमा पनि दिइने नीति लिएको छ । त्यसरी नै सबै सरकारी अस्पतालमा सामाजिक सेवा इकाइको व्यवस्था गरिनेछ ।
सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्थालाई अझ बढी प्रभावकारी बनाउन गाउँ/नगरपालिकाको नयाँ संरचनामा अनुरुप प्रत्येक वडामा स्थानीय महिलाहरूलाई आवश्यक नर्सिङ सेवाको तालिम दिई आफ्नै वडामा तलबी नर्स स्वयंसेवकको रूपमा कार्यरत गराउँदै लगिनेछ ।  विगतमा नेपाली कांग्रेसको सरकारका पालामा प्रत्येक गाउँ विकास समितिमा एक स्वास्थ्य संस्था राख्ने नीति अनुरूप नेपालका सबै गाउँ विकास समितिहरूमा स्वास्थ्य संस्थाको स्थापना भएर मातृ तथा बालमृत्युदर लगायत नेपालको समग्र स्वास्थ्य स्थितिमा आएको सुधारलाई पनि नेपाली कांग्रेसले गर्वका साथ उल्लेख गरेको छ ।
कांग्रेस नेतृत्वका स्थानीय सरकारहरुले गैरसरकारी क्षेत्रलाई पनि स्वास्थ्य सेवा प्रदायकका रूपमा समावेश गर्ने नीति लिनेछन् । यसका लागि कम्तीमा पनि १०० वटा पाइलट कार्यक्रम सञ्चालन हुनेछन् । कांग्रेसले सरकारी छात्रवृत्ति वा अन्य सहयोगबाट शिक्षा प्राप्त गरेका चिकित्सकहरूलाई गाउँपालिकाका अस्पतालमा पठाउने विधि र प्रक्रियालाई अझ बढी आकर्षक र प्रभावकारी बनाउनेछ ।
नेपाली कांग्रेसले प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम ल्याउने कुरा घोषणापत्रमा उल्लेख गरेको छ । यसका लागि पाँच जना सम्मको एउटा परिवारले वार्षिक रु. २५०० योगदान रकम तिरेर सदस्य बनेपछि स्वास्थ्य उपचार आवश्यक पर्दा एक वर्ष भित्रमा रु. ५० हजार सम्मको सेवा पाइने कार्यक्रमलाई देशभर संचालन गरिनेछ ।
सम्भाव्य गाउँपालिकाहरुमा निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा प्रदान गर्न सक्षम तुल्याई नेपाललाई विशिष्ट चिकित्सा पर्यटनको गन्तव्य बनाउने कार्यक्रम पनि कांग्रेसले ल्याउने भएको छ । यसका लागि निजी अस्पताल तथा चिकित्सा केन्द्रहरूको गुणस्तर मापदण्ड तोकिनेछ ।
नेपाली कांग्रेसले स्वास्थ्य सेवा सुधारका लागि निरोधात्मक अबलम्बन गर्ने कुरालाई प्राथमिकता दिएको छ । यस अनुसार प्रत्येक घरमा शौचालय निर्माण र सरसफाइको सामाजिक अभियान चलाइनेछ । विपन्न वर्गका परिवारहरूलाई शौचालय निर्माण गर्न थप अनुदान दिइनेछ । “एक विपन्न परिवार : पानीको एक निःशुल्क धारा” कार्यक्रम पाँच वर्षका लागि ल्याइनेछ ।
“सबैका लागि स्वस्थकर खानेपानी ”सुनिश्चित गर्न नेपाली कांग्रेसले  पानीका मुहानहरूको संरक्षण गर्ने र  खानेपानीको गुणस्तर कायम गरी सबै मानव बस्तीहरूमा सुरक्षित खानेपानी पु¥याउने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउने विषयलाई पनि महत्व दिएको छ । सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि आगामी पाँच वर्षभित्रमा आर्सेनिकयुक्त पानीका स्रोतहरू माथिको निर्भरता समाप्त गरिने र प्रत्येक नगरपालिकामा अधिकारसम्पन्न खानेपानी बोर्ड बनाई सो मार्फत खानेपानीको  आपूर्ति व्यवस्था गरिनेछ ।
कांग्रेसले  गर्भवति र सुत्केरी महिलाको स्वास्थ्यलाई विशेष ध्यान दिएको छ ।  यसका लागि गर्भवती महिलाहरुको पोषणको लागि नियमित भत्ताको व्यवस्था गरिनेछ  भने “सुत्केरी आमा : पोसिलो खाना ” भन्ने नाराका साथ स्थानीय स्वास्थ्य संस्थाबाट सुत्केरी भएको २ वर्षसम्म पोषण कुपन वितरण गरिने कार्यक्रम ल्याइने छ । सबै नवजात शिशुहरुको निःशुल्क उपचार कार्यक्रमलाई देशभर विस्तार गरिनेछ । हाल कार्यान्वयनमा रहेको सुनौलो हजार दिन कार्यक्रम सबै वडाहरुमा पुर्याइनेछ ।

प्रकाशित : १३ बैशाख २०७४, बुधबार ००:००