८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

प्रमुख पदका लागि उम्मेदवार नबनाएपछि दलित समुदाय असन्तुष्ट



कालीकोट, १३ वैशाख । कुनै पनि राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा दलितलाई प्रमुख पदका लागि उम्मेदवार नबनाएपछि यहाँका दलित समुदायले असन्तुष्टि पोखेका छन् ।
नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेमकिपा र राजमो लगायतका दलले जिल्लाका तीन नगरपालिकाका प्रमुख र छ गाउँपालिकाका अध्यक्ष पदका लागि दलित उम्मेदवारलाई छनोट नगर्दा दलित समुदायले असन्तुष्टि पोखेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य तथा दलित महिला नेतृ हजा सुनारले “जिल्लाका सबै पार्टीले उपल्ला जातका मान्छे मात्र उम्मेदवारका लागि योग्य भएको बताउने तर ४० प्रतिशत दलित भएको कालीकोटमा भने एकजनालाई पनि स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बनाउन नसक्नु विडम्बना भएको बताए ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) का दलित नेता दिनेश चन्दाराले आर्थिक रुपले पछाडिपरेका दलित तथा निम्न वर्ग भन्दा पनि स्थानीय तहको निर्वाचनमा दलहरुले उपल्ला जातका मान्छेलाई मात्र प्राथमिकतामा राखेको आरोप लगाउँदै यस वारे आफूले आफ्नो पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएको बताए।
नेपाली काँग्रेस निकट नेपाल दलित सङ्घका जिल्ला अध्यक्ष निलो तिरुवा, नेकपा (एमाले) निकट जातीय मुक्तिमोर्चाका दानबहादुर विक, नेकपा (माओवादी केन्द्र) का अनन्त विक र दिनेश चन्दारा, राप्रपा निकट दलित सङ्गठनका हजा सुनार, दलित महिला अगुवा छाया सुनार लगायतले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी स्थानीय तहको प्रमुख पदमा दलित समुदायबाट पनि उम्मेदवार बनाउन दलहरुलाई आग्रह गरे ।
कालीकोट जिल्लामा नगरप्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा दलित उम्मेदवार शून्य छन्, भने रास्कोट नगरपालिका– ५ मा नेकपा ९माओवादी केन्द्र० का तर्फबाट मनबहादुर तिरुवा, वडा न– ३ मा एकजना, पचाल झरना गाउँपालिका– १ , २ र ५ मा मात्र वडा अध्यक्ष पदमा दलित समुदायका उम्मेदवार छनोट गरिएको बताइएको छ ।
२०५४ सालको स्थानीय निर्वाचनमा दलित समुदायका एकजना गाविस अध्यक्ष र पाँचजना गाविस उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : १३ बैशाख २०७४, बुधबार ००:००