४ बैशाख २०८१, मंगलबार । April 16, 2024

मुख्य खबर

समन्वय गरेर कार्यक्षमता बढाउन सञ्चारमन्त्रीको निर्देशन



काठमाडौँ, ११ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रालयअन्तर्गतका निकायबीच समन्वय गरेर कार्यक्षमता बढाउन निर्देशन दिएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयको विकास समस्या समाधान समिति बैठक तथा चालु आर्थिक २०७३÷७४ को दोस्रो चौमासिक प्रगति समीक्षामा उहाँले मन्त्रालयको कार्यान्वयन क्षमता वृद्धि गर्न आग्रह गरे ।
सञ्चारमन्त्री कार्कीले भन्नुभयो, “मन्त्रालयअन्तर्गतका कार्यक्रम पूरा हुन सकेन, चालु आर्थिक वर्षका निर्धारित कार्यक्रम तथा योजना पूरा गर्नुहोस् ।” उहाँले अमूर्त कार्यक्रम घोषणा गर्ने तर कार्यान्वनमा पक्ष फितलो हुने अवस्था अब हुनुनहुँने बताए ।
नतिजामुखी नहुने परम्परा कायम हुँदै गएमा अराजकता निम्तिने उल्लेख गर्दै मन्त्री कार्कीले काम गर्ने शैली र सोचमा परिवर्तन नल्याएसम्म मुलुकको परिवर्तन हुन नसक्ने बताउनुभयो । मन्त्रालयको बेरुजु बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “बेरुजुले मन्त्रालयको छविलाई राम्रो गर्दैन, त्यसलाई अन्त्य गर्न विशेष ध्यान दिनु होला ।”
बैठकलाई सम्बोधन गर्दैै सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मन्त्रालयअन्तर्गतका सबै निकायको दुईतिहाइ काम सकाउने समयको बैठकले आगामी योजना बनाएर अगाडि बढ्न मद्दत गर्ने बताए ।
उहाँले आगामी आवका लागि नीति तथा कार्यक्रमम बनाउन महत्वपूर्ण सुझाव आवश्यक पर्ने भन्दै आ–आफ्ना कार्यलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताए ।
बैठकमा सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका राष्ट्रिय सूचना आयोग, हुलाक सेवा विभाग, मुद्रण विभाग, सूचना विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्रिय समाचार समितिबाट प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
सो अवसरमा दूरसञ्चार प्राधिकरणबाट सामुदायिक क्याम्पस, सामुदायिक उच्चमाध्यामिक, माध्यामिक विद्यालय एवम् प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पु¥याउने तयारी भइरहेको जानकारी दिइएको थियो ।
त्यसैगरी राससका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्लेले भूकम्पले क्षति पु¥याएको भवन निर्माण कार्यलाई अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
बैठकमा प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, रेडियो प्रसार सेवा विकास समिति, गोरखापत्र संस्थान, चलचित्र विकास बोर्ड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तर्फबाट पनि आ–आफ्ना कार्यालयको प्रगति विवरण प्रस्तुत गरिएको थियो । ती संस्थाले चालु आवका लागि तयार गरिएका आफ्ना कार्यलाई पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ००:००